मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

खैरो हेरोइन २०.८३० ग्राम सहित तीन व्यक्ति प्रहरी नियन्त्रणमा

मंगलवार , भाद्र २३, २०८३

झापा,२३ भदौ — भारतबाट लागु औषध खैरो हेरोइन खरिद गरी कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले झापाबाट तीन जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सञ्चालन गरेको कारबाहीका क्रममा २०.८३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

लागु औषध नियन्त्रण ब्यूरो काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार सोमवार झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ तथा कन्काई नगरपालिका वडा नम्बर ५ बाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये अर्जुनधारा नगरपालिका वडा नम्बर ११ निवासी २१ वर्षीय गोविन्द श्रेष्ठ र बिर्तामोड नगरपालिका वडा नम्बर ११ निवासी ३० वर्षीय कृष्णबहादुर प्रधानलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

त्यस्तै, कन्काई नगरपालिका वडा नम्बर ४ निवासी ३२ वर्षीय रोशन चौधरीलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापाको जिम्मा लगाइएको रेग्मीले बताए ।

प्रहरी टोलीले पक्राउ परेका व्यक्तिहरूको साथबाट लागु औषध खैरो हेरोइन २०.८३० ग्राम बरामद गरेको छ । साथै अनुसन्धानका क्रममा उनीहरूको साथबाट दुई थान मोबाइल फोन, नेपाली नगद २ हजार ६ सय रुपैयाँ र एउटा साइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरू भारतबाट लागु औषध खरिद तथा संकलन गरी कोशी प्रदेशका विभिन्न क्षेत्रमा बिक्री गर्ने गतिविधिमा संलग्न रहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सुरक्षा निकायले जनाएको छ ।

प्रतिक्रिया