सुनसरी,१८ भदौ – सुनसरीको रामधुनी नगरपालिका–५ स्थित चाम्लिङ होटल एण्ड लजबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ निवासी ५२ वर्षीय मोजामिल अन्सारी र उक्त होटलकी सञ्चालक रामधुनी नगरपालिका–५ की ४९ वर्षीया मनिता राई रहेका छन् ।
होटलमा लागूऔषध ब्राउन सुगर बिक्री–वितरण भइरहेको गोप्य सूचना प्राप्त भएपछि शुक्रबार बिहान करिब ११ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले कारबाही अघि बढाएको थियो। सोही क्रममा होटलमा खानतलासी गर्दा मनिता राईले लुकाएर राखेको अवस्थामा १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्नता देखिएपछि अन्सारी र राई दुवैलाई नियन्त्रणमा लिइएको हो। बरामद लागूऔषधसहित उनीहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ । घटनाको प्रकृति, लागूऔषधको स्रोत तथा सम्भावित बिक्री–वितरण सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि घटनासँग सम्बन्धित अन्य व्यक्ति वा पक्षको संलग्नता खुलेमा उनीहरूमाथिसमेत कानुनबमोजिम कारबाही अघि बढाइने बताइएको छ ।