धनगढी,१८ भदौ — कैलालीको लम्कीचुहा नगरपालिका–८, गप्कामा विद्युतीय हाइसको ठक्करबाट १५ वर्षीया किशोरी स्वस्तिका न्यौपानेको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान करिब ९ः३० बजे भएको दुर्घटनापछि स्थानीयवासी र मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका थिए । घटनामा संलग्न हाइसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०८५ नम्बरको विद्युतीय हाइसले बाटो काट्ने क्रममा लम्कीचुहा नगरपालिका–८ निवासी न्यौपानेलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते न्यौपानेलाई प्रारम्भिक उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले उनलाई थप उपचारका लागि नेपालगन्ज पठाएका थिए । नेपालगन्ज लैजाँदै गर्दा स्वास्थ्य अवस्था जटिल बनेपछि बाटोबाट फर्काएर टिकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
टिकापुर अस्पतालमा पु¥याइएकी न्यौपानेलाई बिहान ११ः०७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव हाल टिकापुर अस्पतालको शवगृहमा राखिएको छ ।
दुर्घटनालगत्तै मृतकका आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्ग बन्द हुँदा करिब २५ देखि ३० वटा सवारीसाधन जाममा परेका थिए । अवरोध हटाउन इलाका प्रहरी कार्यालय लम्की, सुख्खड, चिसापानी तथा बहुनियाबाट प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीले घटनास्थल र राजमार्ग आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । दुर्घटनामा संलग्न हाइसलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लम्कीमा राखिएको छ ।
हाइस चालक कैलालीको गोदावरी नगरपालिका–५ निवासी ३० वर्षीय प्रताप चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमील्सिनाका अनुसार घटनाका सबै पक्षमाथि थप अनुसन्धान भइरहेको छ ।