सल्यान,१७ भदौ – सल्यानको शारदा नगरपालिका–३ मा रहेको एमएम एकेडेमी प्रा.लि.ले बाढीपीडितको राहतका लागि एक लाख २८ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । विद्यालयले आफ्नो संस्थागत योगदानसँगै शिक्षक तथा कर्मचारी, अध्ययनरत विद्यार्थी र साहुटोल बजार क्षेत्रका स्थानीयको सहभागितामा उक्त रकम जुटाएको हो ।
विद्यालयबाट प्राप्त विवरणअनुसार एमएम एकेडेमी प्रा.लि.ले ३३ हजार ८ सय २० रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट ३८ हजार ५ रुपैयाँ, विद्यार्थीबाट २९ हजार १५ रुपैयाँ र साहुटोल बजार क्षेत्रबाट २७ हजार ९ सय ६५ रुपैयाँ संकलन भएको छ । विभिन्न क्षेत्रबाट प्राप्त सहयोगलाई एकीकृत गर्दा कुल रकम एक लाख २८ हजार ८ सय ५ रुपैयाँ पुगेको विद्यालयले जनाएको छ ।
विद्यालयका सञ्चालक महेश देवकोटाका अनुसार विपद्को समयमा बाढीपीडित नागरिकको पीडामा साथ दिन विद्यालय परिवार र स्थानीय बजार क्षेत्रको सहकार्यमा सहयोग अभियान सञ्चालन गरिएको हो । उनले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले आफूहरूले सक्दो सहयोग जुटाएको बताए ।
“विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सामाजिक दायित्व हो। यही भावनाका साथ विद्यालय परिवार, विद्यार्थी, शिक्षक–कर्मचारी र स्थानीय बजार क्षेत्रका साथीहरूको सहयोगमा रकम संकलन गरेका हौँ,” सञ्चालक देवकोटाले भने ।
उनका अनुसार विद्यालयले संकलित रकम राहत वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राज्यको राहत प्रयासमा सहयोग पुगोस् र पीडित परिवारलाई आवश्यक सहायता उपलब्ध गराउन योगदान होस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको उनले जानकारी दिए ।
विद्यालयले आफ्नो नियमित शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोगका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ । स्थानीय समुदायसँगको सहकार्यमा संकलित रकम सरकारी राहत कोषमा जम्मा गरिने भएपछि बाढीपीडितका लागि सञ्चालन भइरहेका उद्धार तथा राहत प्रयासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।