मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

सुरुङदेखि बस्तीसम्म सेनाको व्यापक खोज तथा उद्धार अभियान

सोमवार , भाद्र १५, २०८३

काठमाडौँ, १५ भदौ – भोटेकोशी बाढीबाट प्रभावित रसुवा तथा आसपासका जिल्लामा नेपाली सेनाले स्थल र हवाई माध्यमबाट खोज, उद्धार तथा राहत वितरणलाई निरन्तर तीव्र बनाएको छ। भदौ १० गते बाढी आएयता सोमबार बिहानसम्म ३ हजार ५ सय ९६ जनालाई सुरक्षित स्थानमा पु¥याइएको सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये ३ सय ३८ जना विदेशी नागरिक छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमसम्मका प्रभावित क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरू घाइते तथा प्रभावितको खोजी, उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने र आपतकालीन स्वास्थ्य सेवा सञ्चालनमा खटिएका छन्।

बाढीका बेला सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिको खोजीका लागि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा विशेष उद्धार कार्य जारी छ। सोमबार बिहान करिब २ बजे सुरुङको अवरोध हटाउन नियन्त्रणित विस्फोट गरिएपछि दुई एक्स्काभेटरलाई करिब १० मिटर तलसम्म पु¥याएर प्वाल बनाउने तथा थुप्रिएको पानी, हिलो र लेदो हटाउने काम भइरहेको सेनाले जनाएको छ। सुरुङभित्रको जटिल भू–अवस्था र बाक्लो लेदोले उद्धार अभियान कठिन बनेको छ।

त्रिशूली–३ ‘बी’ को सुरुङमा विज्ञसहितको सैनिक टोली परिचालित छ। विदेशी विशेषज्ञ सम्मिलित संयुक्त टोलीले चिलिमे हाइड्रोको सुरुङमा करिब १ सय मिटर प्रवेश गरी खोजी गर्दा भित्री भाग हिलोमाटोले पुरिएको पाएको थियो। त्यस क्षेत्रबाट दुई शव सङ्कलन गरिएको छ। अपर त्रिशूली–१ को सुरुङमा उद्धार टोली करिब ३ सय मिटर भित्रसम्म पुगेको र एक शव फेला पारेको जनाएको छ। लाङटाङ सुरुङमा पनि ‘सर्च लाइट’ प्रयोग गरी खोजी कार्य सञ्चालन भइरहेको छ।

प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्तीमा पैदल गस्तीमार्फत बेपत्ता व्यक्तिको खोजी भइरहेको छ। स्थानीयसँग प्रत्यक्ष सम्पर्क गरी अवस्थाको जानकारी लिने, उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने तथा सुरक्षाको प्रत्याभूति दिलाउने कार्यसमेत जारी छ। स्याफ्रुबेसीमा राहत र राशन वितरण गरिएको छ भने लाङटाङ हाइड्रो क्षेत्र आसपास रेकी तथा गस्ती बढाइएको छ।

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपतकालीन उपचार केन्द्रबाट हालसम्म २ हजार ६ सय ३२ जनाले स्वास्थ्य सेवा पाएका छन्। सडक तथा स्थलमार्ग अवरुद्ध रहेकाले धुन्चेलगायत क्षेत्रमा हवाई माध्यमबाट २३ हजार १ सय ९४ किलोग्राम राहत सामग्री ढुवानी गरिएको छ। सेनाले सम्भावित सुरुङ उद्धारसँगै बाढीले बगाएका र बेपत्ता भएका व्यक्तिको खोजी, शव सङ्कलन तथा व्यवस्थापनलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ।

प्रतिक्रिया