मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

ताल रित्तिए पनि केरुङमा जोखिम कायमै

सोमवार , भाद्र १५, २०८३


काठमाडौं,१५ भदौ. – चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत जिरोङ (केरुङ) काउन्टीमा नदी थुनिएर बनेको ताल करिब पूर्णरूपमा रित्तिए पनि नेपाली भूभागतर्फ त्यसबाट उत्पन्न जोखिम अझै हटेको छैन । चीनको जलस्रोत मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा तालमा मिसिने नेपाली नदीको एक गहिरो खाल्डो र तल्लो तटीय क्षेत्रमा रहेका तीन जलमग्न इलाकामा ठूलो खतरा कायम रहेको जनाएको हो ।

मन्त्रालयका अनुसार ड्रोनबाट खिचिएका दृश्य, प्यानोरामिक तस्बिर तथा अग्रपङ्क्तिमा परिचालित आपतकालीन टोलीको प्रतिवेदनका आधारमा गरिएको पछिल्लो मूल्याङ्कनले पुरेपु साङ्पो नदीमा बनेको ताल लगभग खाली भइसकेको देखाएको छ । नदीको बहावसमेत अहिले सामान्य रूपमा अघि बढिरहेको विज्ञप्तिमा उल्लेख छ ।

तर, पुरेपु साङ्पोमा मिसिने छोचेन खोलाको अवस्था भने अझै संवेदनशील रहेको मन्त्रालयले जनाएको छ । तालबाट करिब पाँच दशमलव छ किलोमिटर माथि, नेपाली नदी क्षेत्रमा रहेको गहिरो खाल्डोमा करिब चौध लाख घनमिटर पानी जम्मा भएको छ । उक्त खाल्डो नदी थुनिएर बनेको तालभन्दा करिब आठ सय मिटर उचाइमा रहेको बताइएको छ ।

उपग्रहबाट प्राप्त तस्बिरअनुसार शनिबार बिहान ११ बजेर २३ मिनेटसम्म खाल्डोमा पानी फैलिएको क्षेत्रफल करिब एक लाख आठ हजार वर्गमिटर थियो । बिहान सात बजेको तुलनामा यो क्षेत्रफल १९ हजार वर्गमिटरले घटेको मन्त्रालयले जनाएको छ ।

खाल्डोबाट करिब दुई दशमलव पाँच किलोमिटर तलतर्फ थप तीनवटा जलमग्न क्षेत्र पहिचान भएका छन्। तिनको कुल क्षेत्रफल ७० हजार वर्गमिटरभन्दा कम रहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले भनेको छ, “नेपालको छोचेन खोलामा रहेको खाल्डो र तल्लो तटीय क्षेत्रका तीनवटा जलमग्न इलाकाले महत्त्वपूर्ण जोखिम र लुकेका खतराहरू निम्त्याइरहेका छन् ।”

शनिबार नेपालतर्फ गएको पहिरोपछि पुरेपु साङ्पोमा बनेको तालभन्दा दुई दशमलव आठ किलोमिटर तल अर्को अस्थायी ताल बनेको थियो। माथिबाट आएको पानीको बहावले त्यो ताल फुटिसकेको र पानी अहिले सामान्य धारमा बगिरहेको चीनले जनाएको छ ।

यद्यपि नदी किनारका विभिन्न स्थानमा नयाँ पहिरो खस्दा पुनः नदी थुनिएर अर्को ताल बन्न सक्ने सम्भावना अझै रहेको मन्त्रालयको चेतावनी छ । सिचाङ आपतकालीन व्यवस्थापन विभागका अनुसार नेपाल–चीन सीमास्थित जिरोङ बन्दरगाहमा बुधबार गएको पहिरोमा शनिबार साँझ ६ बजेसम्म १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया