काठमाडौं,१३ भदौं — चीन–नेपाल सीमा नजिकै हिमपहिरोपछि बनेको अस्थायी तालबाट सम्भावित बाढी आउने जोखिम क्रमशः कम हुँदै गएको चिनियाँ अधिकारीहरूले बताएका छन् । यसै साताको सुरुआतमा आएको विनाशकारी बाढीपछि दुई नदीको सङ्गम क्षेत्रमा बनेको उक्त जलाशयको पानी प्राकृतिक रूपमा बाहिरिन थालेसँगै यसको फैलावट घटेको हो ।
चिनियाँ सञ्चारमाध्यमहरूले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार, बिहीबार बिहानसम्म तालको सतही क्षेत्रफल घटेर ९९ हजार वर्गमिटरमा सीमित भएको छ । अघिल्लो अवस्थासँग तुलना गर्दा तालको क्षेत्रफल २१ हजार वर्गमिटरले कमी आएको बताइएको छ ।
सीमा क्षेत्रमा फैलिएको उक्त ताल हिमनदीबाट बगेको लेदो, माटो, ढुंगा तथा अन्य भग्नावशेष थुप्रिएर बनेको थियो । प्रारम्भिक चरणमा तालको पानी एक्कासि फुटेर तलतिर बगेमा उपत्यका र तल्लो तटीय बस्तीमा अर्को ठूलो विपद् निम्तिन सक्ने चिन्ता व्यक्त गरिएको थियो । यसले प्रभावित क्षेत्रमा चलिरहेको खोज, उद्धार तथा राहत व्यवस्थापनमा समेत थप अवरोध सिर्जना गर्न सक्ने भन्दै विज्ञहरूले सतर्क रहन आग्रह गरेका थिए।
तर पछिल्ला भूउपग्रह तस्बिरहरूले तालभित्र संचित पानी बिस्तारै निकास भइरहेकाले जलाशयको आकार खुम्चिएको देखाएका छन् । पानीको सतह र फैलावट घट्दै जानु सम्भावित आकस्मिक बहावको जोखिम नियन्त्रणतर्फ उन्मुख रहेको संकेतका रूपमा हेरिएको छ ।
तालको अवस्थाबारे निरन्तर जानकारी लिन सरकारी टोलीले स्थल तथा प्रविधिमार्फत अनुगमनलाई तीव्र बनाएको छ । थप तथ्याङ्क सङ्कलन र जोखिम मूल्याङ्कनका लागि १५ सदस्यीय प्राविधिक टोली परिचालन गरिएको छ । टोलीसँग ड्रोन, पोर्टेबल भूउपग्रह स्टेसन तथा मोबाइल सर्भिलेन्स क्यामेरा जडान गरिएका छन् ।
अनुगमन टोलीले तालको पानीको बहाव, आसपासको भू–भागको स्थिरता, हिमनदीय लेदोको अवस्था र सम्भावित निकासमार्गको निरन्तर अध्ययन गरिरहेको जनाइएको छ । प्राकृतिक बहाव कायम रहेसम्म जोखिम थप घट्ने अपेक्षा गरिएको छ, यद्यपि मौसम, थप पहिरो तथा भू–भागमा आउन सक्ने परिवर्तनप्रति सजगता आवश्यक रहने अधिकारीहरूको बुझाइ छ ।
शुक्रबार तालबाट पानी बाहिरिन थालेपछि सुरक्षाका कारण केही समय उद्धार कार्य रोकिएको थियो । त्यसपछि गरिएको थप प्राविधिक मूल्याङ्कनले तत्कालको जोखिम नियन्त्रणमा रहेको निष्कर्ष निकालेपछि सम्बन्धित निकायहरूले परिस्थितिमाथि निगरानी कायम राखेका छन् ।
सीमावर्ती हिमाली क्षेत्रमा हुने यस्ता अस्थायी तालको अवस्था छोटो समयमै परिवर्तन हुन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दा, उद्धारकर्मी तथा सरोकारवाला निकायलाई सतर्क रहन आग्रह गरिएको छ । हाल तालको आकार घट्दै जानु राहतको विषय भए पनि नियमित अनुगमन र पूर्वतयारीलाई निरन्तरता दिनुपर्ने आवश्यकता भने कायमै रहेको छ ।