काठमाडौ,१३ भदौं – कास्कीको पोखरामा सडकको नालीबाट आएको तीव्र भेलले बगाउँदा आमा र उनकी दुई वर्षीया छोरीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३०, ढुंगेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी छोरी रानीको उपचारका क्रममा मृत्यु भएको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शुक्रबार साँझ वर्षापछि सडकको नालीमा जम्मा भएको भेलले उनीहरूलाई बगाएको थियो । सुष्मा ग १३ प २८५९ नम्बरको स्कुटरमा छोरी रानीलाई साथमा राखेर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिइन् ।
सडकमा पानीको बहाव बढेपछि उनले स्कुटर सडकको किनारमा रोकेर झर्ने क्रममा छोरीलाई भेलले अचानक बगाएर नालीतर्फ पु¥याएको थियो । छोरीलाई जोगाउने प्रयास गर्दा सुष्मा पनि नालीमा पुगेकी थिइन् । त्यसपछि तीव्र बहावले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल पोखरा–१७ स्थित बिरौटासम्म पु¥याएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
बरालले भने, ‘बालिकालाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन् । सो क्रममा भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पु¥याएको थियो ।’
स्थानीय तथा उद्धारकर्मीले उनीहरूलाई पोखरा–१७, बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरेका थिए । उद्धारपछि तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो ।
अस्पतालमा उपचार भइरहेका बेला सुष्माको शुक्रबार राति मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । उनकी छोरी रानीको भने शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।
वर्षापछि पोखराका विभिन्न स्थानमा सडक, नाली तथा खोल्सामा पानीको बहाव बढ्ने गरेको छ । सडकको नालीमा आएको पानीको बहाव अनुमानभन्दा तीव्र हुन सक्ने भएकाले वर्षाका बेला सडक किनारमा सवारी रोक्दा तथा पैदल हिँड्दा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ । घटनाबारे सम्बन्धित निकायले आवश्यक विवरण संकलन गरिरहेको जनाएको छ ।