शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

छोराले दाउराको चिरपट प्रहारगर्दा बाबुको मृत्यु

बिहिवार , भाद्र ११, २०८३

धनकुटा,११ भदौ – धनकुटाको चौबिसे गाउँपालिका–सात, ठुलो ढुङ्गामा छोराको प्रहारबाट बुबाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा बत्तीस वर्षीय युवराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिहिवार बिहान करिब पौने ६ बजे युवराजले आफ्नै बुबा, अन्दाजी सत्तरी वर्षीय अमरध्वज लिम्बुको टाउकोमा काठको दाउरा अर्थात् चिरपटले प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

घटनाबारे बिहान सवा ६ बजे अस्थायी प्रहरी बिट मौनाबुधुक, धनकुटामा सूचना पुगेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।   घटनापछि फरार भएका युवराजको खोजीका क्रममा प्रहरीले घरबाट करिब पाँच सय मिटर दक्षिणतर्फ रहेको जंगल क्षेत्रमा खोजतलास गरेको थियो । सोही क्रममा बिहान करिब सवा आठ बजे उनी जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए। प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

मृतक अमरध्वजको शवको मुचुल्का तथा अन्य कानुनी प्रक्रिया पूरा गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको कारण, पारिवारिक पृष्ठभूमि र प्रहार हुनुअघिको परिस्थिति खुलाउन अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया