प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य प्रतिवेदन संसद् सचिवालयमा

मंगलवार , भाद्र ९, २०८३

काठमाडौं,९ भदौ – प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्थाबारे स्वास्थ्य परीक्षणको प्रतिवेदनसहितको औपचारिक पत्र संघीय संसद् सचिवालयमा पठाएका छन् । संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य अवस्थासम्बन्धी प्रतिवेदनसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री शाह संसद् प्रवेश गर्दा कालो चस्मा लगाउने विषयलाई लिएर यसअघि सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई आवश्यक निर्देशन दिएका थिए । सभामुखले कालो चस्मा प्रयोग गर्नुपर्ने भए त्यसको आधार खुल्ने स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाण पेस गर्नुपर्ने बताएका थिए । सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहका तर्फबाट स्वास्थ्य प्रतिवेदनसहितको पत्र संसद् सचिवालयमा दर्ता भएको हो।

प्रतिनिधिसभामा बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रत्यक्ष रूपमा प्रश्न गर्ने तयारी छ । कार्यक्रमका लागि प्रधानमन्त्री संसद् भवनमा उपस्थित हुँदा स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने जानकारी सचिवालयमा पठाइएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न गर्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछन् । यही प्रावधानका आधारमा सभामुख अर्यालले बुधबारका लागि प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरेका हुन् ।

नियमावलीको दफा ५७ ले यस्तो कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै, दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि आफूले उठाउन चाहेको विषयको लिखित जानकारी सभामुखसमक्ष बुझाउनुपर्छ ।

सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहने सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए । निर्धारित समयभित्र ११ जना सांसदले प्रश्न दर्ता गराएका छन् । बुधबार हुने कार्यक्रममा प्रधानमन्त्री शाहले ती प्रश्नको जवाफ दिनेछन् । कालो चस्मा प्रयोगसम्बन्धी स्वास्थ्य प्रतिवेदनसहितको पत्र पनि सोही कार्यक्रममा प्रधानमन्त्रीको सहभागितासँग जोडिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया