शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सोमवार , भाद्र ८, २०८३

कञ्चनपुर,०८ भदौ –कञ्चनपुरको बेदकोट नगरपालिका–६, सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् भने मोटरसाइकलमा पछाडि सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमवार बिहान करिब ८ः१५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले डडेल्धुराको अजयमेरु गाउँपालिका–५ निवासी २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो । दुर्घटनामा ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका बेदकोट नगरपालिका–९ निवासी अन्दाजी ६० वर्षीय गौरसिंह महरा भने दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनलाई प्रारम्भिक उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नगढीस्थित टेक केयर अस्पताल प्रालिमा रेफर गरिएको थियो ।

उपचारकै क्रममा महराको बिहान करिब १०ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया