अटो दुर्घटना : एकको मृत्यु, चार घाइते

आइतवार , भाद्र ७, २०८३


पर्वत – पर्वतको फलेवास नगरपालिका–१०, कुर्घामा शनिबार भएको अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । लुङखुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो दिउँसो करिब २ः३० बजे ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पर्वतको बिहादी गाउँपालिका–१, बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल, कुश्मा पु¥याइएकोमा उपचारकै क्रममा दिउँसो ३ः३९ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा फलेवास नगरपालिका–११, पाङग्राङका ३६ वर्षीय अटो चालक मनबहादुर परियार पनि घाइते भएका छन् । त्यस्तै, बिहादी गाउँपालिका–१, बाच्छा देउरालीका २४ वर्षीया कविता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन्। घाइते चारै जनाको प्रदेश अस्पताल, कुश्मामा उपचार भइरहेको छ ।

दुर्घटनाको प्रारम्भिक कारण अटो चालकले ओरालो सडकमा सवारीसाधन नियन्त्रणमा राख्न नसक्नु देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल, सवारीको अवस्था तथा चालकको भूमिकाबारे अनुसन्धानपछि मात्र घटनाको विस्तृत कारण खुल्ने बताइएको छ ।

प्रतिक्रिया