पोखरा ५, भदौ – प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार स्थलमार्ग हुँदै कास्की आइपुगेका छन । पोखरा हुँदै उनि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, धितालस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेको हो । प्रधानमन्त्री शाहको यो भ्रमण सरकारी कार्यक्रम नभई निजी तथा पारिवारिक भ्रमण रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाह शुक्रबार अन्नपूर्ण इको भिलेजमै बस्ने छ । “उहाँ कास्की आइपुग्नुभएको छ । निजी भ्रमणमा आउनुभएको हो । आजको बास अस्ताममै हुन्छ,” उनले जानकारी दिए । प्रधानमन्त्री शाह दिउँसो २ बजेर ५५ मिनेटमा रिसोर्ट पुगेको बताइएको छ ।
प्रधानमन्त्री शाहसहितको टोलीका लागि रिसोर्टका सबै कोठा बुक गरिएको छ । पोखरा–बागलुङ राजमार्गको उत्तरतर्फ रहेको उक्त रिसोर्ट अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रबाट अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायतका हिमशृंखलाका साथै पोखरा महानगरपालिकाको हेम्जा क्षेत्रको दृश्य अवलोकन गर्न सकिन्छ ।
डाँडाकाँडा, हरियाली वनजङ्गल र ग्रामीण वातावरणका कारण अस्ताम क्षेत्र छोटो दूरीको पदयात्रा तथा प्राकृतिक भ्रमणका लागि लोकप्रिय गन्तव्यका रूपमा परिचित छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यस क्षेत्रमा आउने पर्यटकले गाउँले जीवनशैली, हिमाली दृश्य र शान्त वातावरणको अनुभव गर्न पाउँछन् ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली हनिबार मुस्ताङ जाने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा टोलीले कास्की हुँदै मुस्ताङतर्फको यात्रा गर्नेछ ।
प्रधानमन्त्री शाहको कास्की आगमनलाई निजी भ्रमणका रूपमा लिइएको भए पनि उनको उपस्थितिले स्थानीय क्षेत्रमा चासो बढाएको छ । अस्ताम क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका कारण यो भ्रमणलाई स्थानीय स्तरमा विशेष रूपमा हेरिएको छ ।