काठमाडौं,२७ साउन – सरकार गठनको प्रारम्भिक चरणमा ‘देश बनाउने टोली’का रूपमा सार्वजनिक रूपमा प्रस्तुत भएका प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच पछिल्लो समय कार्यशैली र अधिकार प्रयोगको विषयलाई लिएर दूरी बढेको स्रोतहरूले बताएका छन् । मन्त्रालय सञ्चालनमा प्रधानमन्त्रीको सचिवालयको प्रभाव, समानान्तर शक्ति केन्द्रको अनुभूति तथा पछिल्ला केही घटनामा देखिएको समन्वय अभावले दुई नेताबीचको सम्बन्ध चिसिएको स्रोतको दाबी छ ।
सरकार गठनका सुरुवाती दिनमा सौहार्दपूर्ण देखिएको उनीहरूको सम्बन्ध सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा उत्पन्न तनावपछि थप जटिल बनेको बताइएको छ । उक्त क्षेत्रमा स्थानीय तनाव बढेपछि गृह मन्त्रालयको प्रत्यक्ष नेतृत्वमा सुरक्षा व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । तर प्रारम्भिक चरणमा गृहमन्त्री गुरुङलाई घटनास्थल पठाउनुको सट्टा उनका स्वकीय सचिव जेम्स कार्कीलाई नियन्त्रण तथा अनुगमनका लागि खटाइएको थियो ।
कार्की प्राविधिक टोली र ‘ड्रोन’सहित घटनास्थल पुगेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट बनेको स्रोतको भनाइ छ । स्रोतका अनुसार कार्कीलाई सक्रिय भूमिकामा परिचालन गर्ने निर्णयमा प्रधानमन्त्री बालेनको मुख्य टोलीको प्रभाव थियो । मन्त्रालयभित्र सरुवा, बढुवा तथा महत्वपूर्ण प्रशासनिक निर्णयमा समेत प्रधानमन्त्री कार्यालयको चासोअनुसार गतिविधि हुन थालेको र मन्त्रीभन्दा स्वकीय सचिव प्रभावशाली बन्न खोजेको भन्दै आन्तरिक असन्तुष्टि बढेको दाबी गरिएको छ । यही पृष्ठभूमिमा मन्त्रालयभित्र ‘भूमिगत गिरोह’ सक्रिय रहेको चर्चा पनि चलेको स्रोत बताउँछ ।
कप्तानगञ्जको अवस्था स्वकीय सचिवमार्फत नियन्त्रणमा आउन नसकी थप जटिल भएपछि प्रधानमन्त्री बालेनले अन्ततः गृहमन्त्री गुरुङलाई घटनास्थल पठाएको बताइएको छ । गुरुङले स्थानीय समुदाय र पीडित पक्षसँग प्रत्यक्ष संवाद गरेपछि स्थिति सामान्य बनेको स्रोतको दाबी छ । घटनाले गृहमन्त्रीको प्रशासनिक भूमिकाको आवश्यकता देखाएको भए पनि प्रधानमन्त्रीको ‘सूक्ष्म व्यवस्थापन’प्रति उनको असन्तुष्टि थप बढेको बताइन्छ ।
प्रधानमन्त्री कार्यालयबाट आफ्नो कार्यक्षेत्रमा निरन्तर दबाब परेको महसुस गरेका गुरुङ पछिल्लो समय प्रधानमन्त्री बालेनभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग नजिकिएको स्रोतको भनाइ छ । बालेनको ‘केन्द्रीकृत’ कार्यशैलीप्रति असन्तुष्ट गुरुङलाई पार्टीभित्र आफ्नो पक्षमा ल्याउन लामिछानेले रणनीतिक पहल गरिरहेकोसमेत बताइएको छ ।
पार्टीभित्र शक्ति सन्तुलन कायम गर्ने र सरकारमा रास्वपाको अडान सुदृढ बनाउने उद्देश्यले गुरुङलाई पार्टी उपसभापति बनाउने विषयमा समेत लामिछाने सकारात्मक रहेको स्रोतको दाबी छ । गुरुङ रवितर्फ नजिकिएपछि प्रधानमन्त्री बालेन थप रक्षात्मक अवस्थामा पुगेको बताइएको छ ।
यसअघि प्रधानमन्त्री बालेनले गृहमन्त्री गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’को संज्ञा दिएका थिए । तर सोही टोलीका महत्वपूर्ण सदस्य मानिएका गृहमन्त्रीसँग दूरी बढ्नु, संसद् र मन्त्रिपरिषद्मा समेत विरोधी स्वर सुनिनु तथा राजनीतिक समन्वयमा चुनौती थपिनुले प्रधानमन्त्रीले सांकेतिक रूपमा आफू ‘एक्लिएको’ अनुभूति व्यक्त गर्न थालेको स्रोतको दाबी छ ।
मेयर हुँदा एकल निर्णय गरेर तत्काल कार्यान्वयनमा जाने शैली अपनाएका बालेनलाई प्रधानमन्त्रीको जिम्मेवारीमा आएपछि दलीय सन्तुलन, मन्त्रीहरूको स्वायत्तता र संसदीय प्रक्रिया मिलाउन चुनौती देखिएको स्रोतहरू बताउँछन् । मन्त्रालयहरूमा विश्वासपात्रमार्फत नियन्त्रण कायम राख्ने प्रयास नै प्रधानमन्त्री र उनका प्रमुख सहयोगीबीच दूरी बढाउने प्रमुख कारण बनेको स्रोतको दाबी छ ।