शुक्रवार, श्रावण २९ गते २०८३

Friday 14th August 2026

देउवा–दाहालका स्वकीय सचिवको सम्पत्तिमा अख्तियार

सोमवार , श्रावण २५, २०८३

काठमाडौं,२५ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव तथा उनीहरूका परिवारको नाममा रहेको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका तत्कालीन स्वकीय सचिव भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय 
सचिव एवं छोरी गंगा दाहालको परिवारसँग सम्बन्धित सम्पत्तिको स्रोतबारे छानबिन सुरु गरेको हो ।

अख्तियारसम्बद्ध उच्च स्रोतका अनुसार भानु देउवामाथिको अनुसन्धान विस्तृत चरणमा प्रवेश गरेको छ । अनुसन्धानका क्रममा आयोगले उनीबाट विस्तृत सम्पत्ति विवरणसम्बन्धी फारमसमेत भराइसकेको छ । स्रोतले भनेको छ, “भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि फारम, बोलीचालीको भाषामा १३ पाने फारम, भराइसकेको छ । गंगा दाहालको परिवारको नाममा रहेको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु भएको छ ।”

आयोगमा परेको उजुरीलाई आधार बनाएर अनुसन्धान अधिकृत तोकिएको र भानु देउवाको परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिसमेत छानबिनको दायरामा ल्याइएको स्रोतको भनाइ छ । त्यसक्रममा उनको बैंक खाताको विवरण, जग्गाजमिनको अभिलेख तथा शेयर लगानीसम्बन्धी लगत संकलन र परीक्षण गर्ने प्रक्रिया चलिरहेको बताइएको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालमा स्वकीय सचिव रहेकी गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिमाथि पनि सँगसँगै अनुसन्धान अघि बढाएको छ । आचार्य कोशी प्रदेशसभाका सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन् ।

अख्तियारसम्बद्ध स्रोतका अनुसार सम्पत्ति अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिका परिवारका सदस्यहरूको आर्थिक विवरण पनि स्वाभाविक रूपमा अनुसन्धानको दायरामा पर्ने भएकाले आचार्यसमेत छानबिनमा तानिएका हुन् । स्रोतले भनेको छ, “सम्पत्ति अनुसन्धानका क्रममा परिवारका सदस्यहरू पनि स्वतः तानिन्छन्, त्यसक्रममा कोशी प्रदेशसभा सदस्य र प्रदेशका पूर्वमन्त्री पनि अनुसन्धानमा तानिनुभयो ।”

गंगा दाहाल र जीवन आचार्यसम्बन्धी अनुसन्धान भानु देउवाको तुलनामा केही अगाडि बढिसकेको स्रोतको दाबी छ । “उनीहरूको अनुसन्धान भने भानु देउवाको तुलनामा अलि अगाडि बढेको छ, केही सम्पत्तिहरूको स्रोत खुलाउन थप ताकेता गर्ने काम भइरहेको हो,” अख्तियारसम्बद्ध स्रोतले जनाएको छ ।

यसअघि आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि पनि अनुसन्धान सुरु गरिसकेको छ । आयोगले बज्राचार्यलाई काठमाडौंको टंगालस्थित कार्यालयमा बोलाएर विस्तृत सम्पत्ति विवरण भराइसकेको छ ।

यसरी पछिल्ला तीन पूर्वप्रधानमन्त्रीसँग स्वकीय सचिवका रूपमा काम गरेका व्यक्तिहरूको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान अघि बढाएको देखिएको छ । यद्यपि अनुसन्धान सुरु हुनु आफैंमा कसुर प्रमाणित भएको अवस्था होइन । आयोगले प्राप्त उजुरी, सम्पत्ति विवरण, अभिलेख र आम्दानीका स्रोतबीचको सम्बन्ध परीक्षण गरेपछि मात्रै अनुसन्धानको थप दिशा निर्धारण हुनेछ ।

प्रतिक्रिया