काठमाडौं,१३ साउन – नेपाली काँग्रेसका सभापति गगन थापाले सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थितिपछि पनि सर्वदलीय बैठक बोलाउन र राजनीतिक दलसहित विभिन्न तहका सरकारलाई जोड्न पहल नगरेको भन्दै प्रधानमन्त्री बालेन शाहको भूमिकामाथि प्रश्न उठाएका छन् ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा मंगलबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा धारणा राख्दै थापाले संकटका बेला सरकार अभिभावक मात्र नभई नेतृत्वदायी भूमिकामा देखिनुपर्ने बताए । सर्वदलीय बैठक आयोजना गरेकोमा उनले रास्वपा सभापति लामिछानेलाई धन्यवादसमेत दिएका थिए ।
“रास्वपा सभापतिमार्फत सरकारलाई हाम्रो प्रश्न छ—यतिबेला सरकार के गरिरहेको छ र कहाँ छ ?” थापाले भने, “सरकार गोली र लाठीमा मात्र भेटिने तथा सामाजिक सञ्जालका स्टाटसमा सीमित रहने होइन। सरकार अभिभावकसँगै नेता पनि हो । उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ, अनि मात्र अरूले सरकारलाई विश्वास गर्छन् ।”
उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर राष्ट्रपति, प्रदेश सरकार र स्थानीय तहसँग संवाद गर्नुपर्ने बताए । सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराउँदै साझा पहलको आधार तयार गर्नु प्रधानमन्त्रीको जिम्मेवारी भएको उनको भनाइ थियो।
भूकम्प र कोरोना महामारीका समयमा राजनीतिक दलहरूबीच तनाव रहे पनि राष्ट्रिय संकट सामना गर्न सबै दलका नेताहरू मतभेद छाडेर सिंहदरबार पुगेको स्मरण गर्दै थापाले भने, “संकटका बेला एकताबद्ध हुनु नेपालका राजनीतिक दलहरूको चरित्र हो ।”
सुनसरी घटनाबारे काँग्रेसका सांसदहरूले संसद्मा आवाज उठाउने जानकारी दिँदै उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । कुनै एक पक्षलाई मात्र दोष दिएर समस्याको समाधान नहुने उल्लेख गर्दै उनले यसलाई राज्यको असफलताको निरन्तरताका रूपमा चित्रण गरे ।
“मधेसमा कुनै घटना हुँदा अत्यधिक बल प्रयोग गरिन्छ। विगतमा गरिएको त्यस्तो व्यवहार पनि गलत थियो र अहिले पनि गलत छ,” उनले भने, “यस्तो बेलामा प्रधानमन्त्री भाउ खाएर वा ठालु भएर बस्ने हो? सबैलाई जोड्ने प्रयास गर्नुपर्दैन ? प्रधानमन्त्रीले सबैलाई जोड्ने प्रयास गर्नुपर्छ। हामी सरकारलाई सहयोग गर्न चाहन्छौँ ।”
थापाले सामाजिक सद्भाव कायम गर्न काँग्रेसले निरन्तर भूमिका निर्वाह गर्दै आएको पनि बताए । सुनसरीमा दुई पक्षबीच उत्पन्न तनावका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने झडपमा १२ जना घाइते भएका छन् ।
सर्वदलीय बैठकमा सुरुमा आफ्नो धारणा राखेर थापा बाहिरिएका थिए । काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि पार्टीले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएकाले त्यसमा सहभागी हुन आफू पार्टी कार्यालय जानुपर्ने थापाले बताएका थिए ।