शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विश्वकपको उन्माद : स्टार फुटबलरका नाममा नवजात शिशु

सोमवार , श्रावण ४, २०८३

काठमाडौ,०४ साउन – सन् २०२६ को फिफा विश्वकपको प्रभाव खेल मैदान र दर्शकदीर्घामा मात्र सीमित नरही नवजात शिशुको नामकरणसम्म पुगेको छ । विशेषगरी ल्याटिन अमेरिकी मुलुक पेरु, अर्जेन्टिना र मेक्सिकोमा विश्वप्रसिद्ध फुटबल खेलाडीहरूको सम्मानमा शिशुको नाम राख्ने प्रवृत्ति उल्लेख्य रूपमा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पेरुमा नर्वेका युवा स्ट्राइकर एर्लिंग हाल्यान्डप्रति देखिएको लोकप्रियता यति व्यापक बनेको छ कि सयौँ नवजात शिशुको नाम ‘हाल्यान्ड’ राखिएको छ । पेरुको नागरिक पञ्जीकरण विभागका अनुसार यसअघि नै लियोनेल मेस्सी, नेयमार र क्रिस्टियानो रोनाल्डोका नाममा करिब ३० हजारभन्दा बढी बालबालिकाको नाम दर्ता भइसकेको छ । विभागका प्रवक्ता इभान टोरेसले यस अवस्थालाई हास्यपूर्ण रूपमा टिप्पणी गर्दै, “हाल्यान्ड अब पेरुभियन पनि भइसकेका छन्,” भनेका छन् । पेरु यस संस्करणको विश्वकपमा छनोट हुन नसके पनि त्यहाँ फुटबलप्रतिको उत्साह भने कम भएको छैन। त्यसको उदाहरणका रूपमा एक अभिभावकले आफ्ना सन्तानको नाम नै ‘मुन्डियल’ राखेका छन्, जसको स्पेनिस भाषामा अर्थ ‘विश्वकप’ हुन्छ ।

मेक्सिकोमा पनि फुटबलप्रतिको मोहले अनौठो रूप लिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक जन्मदर्ता प्रमाणपत्रअनुसार एक बालिकाको नाम ‘क्विनोना यिसिसिड्रा मोरिटा हाल्यान्ड ग्वेभारा’ राखिएको छ । यो नाम मेक्सिकन फुटबलर जुलियन क्विनोनेस, गिलबर्टो मोरा तथा नर्वेली स्ट्राइकर एर्लिंग हाल्यान्डका नामलाई संयोजन गरेर बनाइएको हो। नाममा समावेश गरिएको ‘यिसिसिड्रा’ शब्द भने मेक्सिकन समर्थकहरूबीच लोकप्रिय रहेको ‘वाई सी सी’ अर्थात् ‘के होला त?’ भन्ने नाराबाट प्रेरित भएको बताइएको छ । यो नारा टोली प्रतियोगिताबाट बाहिरिनुअघि समर्थकहरूले व्यापक रूपमा प्रयोग गर्ने गर्थे ।

विश्वकपको फाइनलसम्म पुगेको अर्जेन्टिनामा पनि राष्ट्रिय टोलीका प्रमुख खेलाडीहरूको सम्मानमा नवजात शिशुको नाम राख्ने क्रम बढेको छ । विशेषगरी साल्टा प्रान्तमा ‘इन्जो’, ‘एमिलियानो’ र ‘लियोनेल’ नाम राखिएका बालबालिकाको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । यी नामहरू क्रमशः मिडफिल्डर इन्जो फर्नान्डेज, गोलरक्षक एमिलियानो मार्टिनेज र कप्तान लियोनेल मेस्सीबाट प्रेरित भएका हुन् ।
यद्यपि, अभिभावकहरूमा देखिएको यस प्रवृत्तिप्रति विज्ञहरूले सावधानी अपनाउन आग्रह गरेका छन् । मेक्सिकी पोडकास्टर फाबियोला मोलिनाले विगत सम्झाउँदै, “ब्याकस्ट्रिट बोइज चर्चित हुँदा धेरै अभिभावकले आफ्ना सन्तानको नाम केभिन र ब्रायन राखेका थिए। तर, मेस्सी वा हाल्यान्डको नाम राख्दैमा बच्चा भविष्यमा महान् फुटबलर बन्छ भन्ने कुनै आधार छैन,” भनेकी छन् । उनका अनुसार चर्चित व्यक्तित्वका नाम राख्दा भविष्यमा बालबालिकाले सामाजिक दबाब वा असहज परिस्थितिको सामना गर्नुपर्ने सम्भावना पनि रहने भएकाले अभिभावकले नामकरण गर्दा दीर्घकालीन प्रभावसमेत विचार गर्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया