मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

बाढीपहिरोको कारण बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण बन्द

आइतवार , श्रावण ३, २०८३

काठमाडौं,०३ साउन – निरन्तर वर्षासँगै विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण देशका प्रमुख सडक सञ्जाल प्रभावित भएका छन् । पहिरो खस्नुका साथै नदी तथा खोलामा पानीको बहाव बढेपछि बीपी राजमार्ग र कान्ति लोकपथमा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ । अरनिको राजमार्गका केही स्थानमा पनि पहिरो र सडक भासिएका कारण यातायात प्रभावित बनेको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ । सडकका विभिन्न भागमा पहिरो थुप्रिनुका साथै रोशी खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको हो ।

बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रे हुँदै सिन्धुलीतर्फ जाने सडकमा प्रहरीले सवारीसाधनलाई रोकेर राखेको छ । यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि विभिन्न स्थानमा सवारीसाधनलाई ‘होल्ड’ गरिएको प्रहरीको भनाइ छ । सडकको अवस्था सुधार नभएसम्म र जोखिम नघटेसम्म सवारीसाधनलाई अगाडि जान नदिइने जनाइएको छ ।

त्यसैगरी, कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाङदुरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । चापागाउँ हुँदै मकवानपुरको हेटौंडातर्फ जाने प्रमुख वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कान्ति लोकपथ बन्द भएपछि सो क्षेत्र भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन् ।

प्रहरीका अनुसार पहिरो खसेको स्थानमा जोखिम कायमै रहेकाले तत्काल सवारी आवागमन सञ्चालन गर्न सकिने अवस्था छैन। सडकको अवस्था सुरक्षित नबनेसम्म उक्त मार्ग भएर यात्रा नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

यसैबीच, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको छ । सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित जिरोकिलो क्षेत्रमा सडक भासिएपछि राजमार्गमा सहज रूपमा सवारीसाधन सञ्चालन हुन सकेको छैन। पहिरो र सडक भासिएको स्थानमा यात्रा गर्दा थप जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

उता, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा गएराति खसेको पहिरो भने हटाइएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएपछि उक्त स्थानमा अहिले दुवैतर्फ सवारीसाधन चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

नारायणगढ–मुग्लिन तथा मुग्लिन–काठमाडौं सडकखण्डमा भने यो समाचार तयार पार्दासम्म कुनै अवरोध देखिएको छैन। प्रहरीले ती दुवै सडकखण्डमा सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ । वर्षा जारी रहेकाले पहिरोको जोखिम भएका सडकमा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न, प्रहरीको निर्देशन पालना गर्न र उच्च सतर्कता अपनाउन यात्रुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया