शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दुई दिन अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

शनिवार , श्रावण २, २०८३

 

काठमाडौँ,०२ साउन –आगामी दुई दिन देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपदबाट

जोगिन उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज शनिबार र भोलि आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना छ । देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

तीव्र वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले जोखिमयुक्त क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन भनेको छ । अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्दै जोखिम बढी रहेका जिल्लामा रात्रीकालीन सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा रातिको समयमा सवारी सञ्चालन गर्दा उच्च सावधानी अपनाउन प्राधिकरणले सचेत गराएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ । जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई भनिएको छ ।

पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ । नदी तथा खोलाका तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन अनुरोध गरिएको छ ।

विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोग आवश्यक परे सम्बन्धित निकायका हटलाइन सेवा प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, जोखिम सूचना तथा चेतावनी नियमित रूपमा हेर्न र त्यसको पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

br.jpg
undefined

प्रतिक्रिया