काठमाडौं,०१ असार– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा आबद्ध दुई कम्पनीमा प्राप्त भएको दुई करोड साठी लाख रुपैयाँको कारोबार शंकास्पद देखिएको निष्कर्षसहित त्यससम्बन्धी अनुसन्धान अघि बढाइएको जनाएको छ । विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासँग संलग्न प्रतिवेदनमा जयवीरसँग सम्बन्धित आर्थिक कारोबारमाथि अनुसन्धान जारी रहेको उल्लेख गरेको हो ।
विशेष अदालतमा पेश गरिएको विवरणअनुसार डिजी हब प्रालि र स्कलर इन्टरनेशनल प्रालिमा भएको वित्तीय कारोबार विभागको अनुसन्धानको दायरामा परेको छ । विभागले जयवीर देउवाको यी दुवै कम्पनीमा लगानी रहेको दाबी गर्दै ती कम्पनीहरूको खातामा जम्मा भएको दुई करोड साठी लाख रुपैयाँको स्रोत र कारोबार शंकास्पद देखिएको जनाएको छ ।
अनुसन्धान प्रतिवेदनमा उक्त रकम हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिबाट भुक्तानी भएको उल्लेख गरिएको छ । विभागका अनुसार हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालि व्यवसायी दीपक भट्टाको पूर्ण नियन्त्रणमा रहेको कम्पनी हो । यही वित्तीय सम्बन्ध र रकमको स्रोतका आधारमा थप अनुसन्धान आवश्यक देखिएको विभागको निष्कर्ष छ ।
विभागले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा कसुरजन्य कार्यबाट रकम प्राप्त भएको हुन सक्ने आधार देखिएकाले त्यसतर्फको अनुसन्धानलाई निरन्तरता दिई प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट उल्लेख गरेको छ । आरोपपत्रमा, ‘कसुरबाट रकम प्राप्त गरेको हुनसक्ने देखिँदा सो तर्फको अनुसन्धानलाई निरन्तरता दिई कानुन बमोजिम गरिनेछ,’ भन्ने व्यहोरा समावेश गरिएको छ ।
यसअघि गत तेइस असारमा विभागले जयवीर देउवालाई सात दिनभित्र अनुसन्धानमा उपस्थित हुन निर्देशन दिँदै औपचारिक सूचना जारी गरेको थियो । विभागका अनुसन्धान अधिकृतहरूको टोली बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो । त्यहाँको भग्नावशेषमा सात दिनभित्र उपस्थित हुनुपर्ने म्यादसहितको सूचना टाँसिएको थियो । त्यसको भोलिपल्ट सोही आशयको सूचना गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरिएको विभागले जनाएको छ ।
गोरखापत्रमा प्रकाशित सूचनामा अनुसन्धानको सिलसिलामा जयवीर देउवासँग केही विषयमा बुझ्नुपर्ने भएकाले तोकिएको अवधिभित्र उपस्थित हुन आग्रह गरिएको थियो । सूचनामा ‘अनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएको,’ भन्ने व्यहोरा समावेश गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ अनुसार सम्पर्कविहीन व्यक्तिका हकमा अनुसन्धान अधिकृतले बढीमा तीस दिनसम्मको म्याद प्रदान गर्दै सार्वजनिक सूचना जारी गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । विभागले जयवीर देउवाका सम्बन्धमा जारी गरिएको सूचना सोही कानुनी व्यवस्थाअनुसार गरिएको जनाएको छ ।