वि.सं. २०६८ साल साउन १ गते ‘सबैका लागि सञ्चार’ भन्ने मूल नाराका साथ सुरु भएको सिन्धुली सौगात राष्ट्रिय दैनिक आज आफ्नो गौरवपूर्ण १६ औँ वर्षमा प्रवेश गरेको छ । यो यात्रा केवल एउटा पत्रिकाको निरन्तरताको इतिहास मात्र होइन, जनविश्वास, सत्यप्रतिको निष्ठा र जिम्मेवार पत्रकारिताको निरन्तर अभ्यासको दस्तावेज पनि हो । यस ऐतिहासिक अवसरमा हामीप्रति अटुट विश्वास प्रकट गर्दै साथ, सहयोग र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखक, शुभेच्छुक, पत्रकार साथी तथा जिल्लावासीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
पत्रकारिता कुनै व्यवसाय मात्र होइन, लोकतन्त्रको आधारस्तम्भ र जनउत्तरदायी सामाजिक दायित्व पनि हो । विशेषतः सीमित स्रोत–साधन, कमजोर विज्ञापन बजार र अनेक आर्थिक चुनौतीबीच जिल्लाबाट दैनिक पत्रिका प्रकाशन गर्नु आफैंमा कठिन कार्य हो । यद्यपि यस्ता चुनौतीले हाम्रो उद्देश्यलाई कहिल्यै विचलित बनाउन सकेनन् । नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्ने, सार्वजनिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने तथा सत्य, तथ्य र निष्पक्ष सूचनामार्फत समाजलाई सुसूचित बनाउने हाम्रो प्रतिबद्धता निरन्तर कायम छ ।
विगत डेढ दशकभन्दा बढी अवधिमा सिन्धुलीमा देखिएका बेथिति, अनियमितता र विकृतिविरुद्ध हाम्रो कलम निरन्तर चलिरहेको छ । त्यस्तै, समाजमा भएका सकारात्मक परिवर्तन, सिर्जनशील प्रयास र प्रेरणादायी कार्यलाई उजागर गर्दै असल अभ्यासलाई प्रोत्साहन गर्ने दायित्व पनि हामीले उत्तिकै इमानदारीका साथ निर्वाह गरेका छौँ । निष्पक्ष पत्रकारिताको मूल मर्मलाई आत्मसात् गर्दै कुनै पनि शक्ति, दबाब वा प्रलोभनका सामु नझुक्ने हाम्रो अठोट आगामी दिनमा पनि यथावत् रहनेछ ।
यात्राका क्रममा हामीबाट भएका कमजोरीप्रति हामी सजग छौँ । आत्मालोचना, सुधार र निरन्तर आत्मपरिष्कार नै विश्वसनीय सञ्चार माध्यमको पहिचान हो भन्ने विश्वासका साथ हामी आफ्ना कमीकमजोरीबाट सिक्दै थप जिम्मेवार र व्यावसायिक बन्ने संकल्प दोहोर्याउँछौँ । रचनात्मक आलोचना, सुझाव र नागरिक खबरदारीलाई हामी सधैँ लोकतान्त्रिक मूल्यको अभिन्न अंगका रूपमा सम्मान गर्नेछौँ ।
सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेको छ । यही परिवर्तनलाई आत्मसात् गर्दै मुद्रित संस्करणसँगै डिजिटल माध्यमबाट पनि संसारभर रहेका सिन्धुलीवासीलाई जिल्लासँग जोड्ने हाम्रो प्रयास निरन्तर विस्तार भइरहेको छ । विश्वसनीय, द्रुत र उत्तरदायी पत्रकारितामार्फत स्थानीय आवाजलाई राष्ट्रिय तथा विश्व समुदायसम्म पु¥याउने हाम्रो अभियान अझ सशक्त हुँदै जानेछ ।
१६ वर्षको यो यात्राले हामीलाई गौरवसँगै थप जिम्मेवारी पनि सुम्पिएको छ । जनविश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो, र यही विश्वासलाई अक्षुण्ण राख्दै सत्य, निष्पक्षता र जनहितप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ दृढ बनाउने वाचा गर्दछौँ । आगामी दिनमा पनि यहाँहरूको साथ, विश्वास, सहयोग, माया र रचनात्मक सुझाव नै हाम्रो प्रेरणाको स्रोत रहनेछ ।