मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी सञ्चालन  होल्ड, सबै नाका बन्द

मंगलवार , आषाढ ३०, २०८३


काठमाडौं, ३० असार — निरन्तर वर्षासँगै देशका विभिन्न राजमार्गमा पहिरो र बाढीको जोखिम तीव्र बनेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा लामो दूरीका सार्वजनिक सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकिएको छ । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाबाट बाहिरिने नागढुंगा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने सबै लामो दूरीका सवारीसाधन बसपार्कलगायतका स्थानमै होल्ड गरिएको सम्बन्धित निकायले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका इन्सपेक्टर किरण घिमिरेका अनुसार नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्डमा आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । चितवन जिल्लाको केराबारी र तुइनखोला क्षेत्रमा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको उनले जानकारी दिए ।

यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि सो मार्ग हुँदै सञ्चालन हुने सवारीसाधनलाई पनि यात्रा गर्न अनुमति दिइएको छैन । त्यसैगरी फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा जोड्ने सडकमा पनि सवारी सञ्चालन रोकिएको छ । कान्तिपथअन्तर्गत पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोका कारण उक्त सडकसमेत बन्द गरिएको जनाइएको छ ।

लगातारको वर्षाले सडक यात्रामा जोखिम बढेपछि हिजो रातभर रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। प्रतिकूल अवस्था यथावत् रहेकाले आज बिहान पनि दिवाकालीन लामो दूरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको छैन। हाल सबै सवारीसाधनलाई बसपार्क तथा सम्बन्धित स्थानमै रोकिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकको अवस्था, वर्षाको निरन्तरता तथा सम्भावित जोखिमको विश्लेषणपछि मात्रै सवारीसाधनलाई कहाँसम्म सञ्चालन गर्न दिने वा नदिने भन्ने विषयमा निर्णय गरिने जनाएको छ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जोखिम न्यून नभएसम्म प्रतिबन्ध कायमै रहने संकेत पनि कार्यालयले दिएको छ ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय चितवनले हिजो साँझदेखि पहिरोको जोखिम उच्च रहेको निष्कर्षसहित अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्रका प्रभावित सडकमार्गमा सवारीसाधनको आवागमन स्थगित गर्ने निर्णय गरेको थियो। सो निर्णयसँगै काठमाडौं उपत्यकाबाट चितवन तथा अन्य जिल्लातर्फ प्रस्थान गर्ने लामो दूरीका सवारीसाधनको सञ्चालनसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया