काठमाडौं,०१ असार – नेपालमा यस वर्षको मनसुन आगमन निर्धारित औसत समयभन्दा पछाडि धकेलिने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार साँझ जारी गरेको विज्ञप्तिमार्फत मनसुन अझै केही दिन ढिलो गरी नेपाल प्रवेश गर्ने सम्भावना रहेको जनाएको हो ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार नेपालमा मनसुन सामान्यतः जुन १३ तारिखतिर प्रवेश गर्ने औसत भए पनि यस वर्ष हालसम्म मनसुन भित्रिएको छैन । भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमान प्रणालीबाट प्राप्त विश्लेषणका आधारमा मनसुनको आगमन तत्काल नहुने र केही दिन पर सर्न सक्ने देखिएको उहाँले जानकारी दिनुभयो ।
मनसुन नआए पनि देशका विभिन्न भूभागमा वर्षा भने जारी छ । विभागका अनुसार पश्चिमी वायु प्रणालीको सक्रियता र स्थानीय वायुको प्रभावका कारण विशेषगरी कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम स्तरसम्मको वर्षा भइरहेको छ । यी क्षेत्रमा पछिल्ला दिनहरूमा बादल लाग्ने, चट्याङसहित पानी पर्ने तथा मौसम आंशिकदेखि सामान्य बदली रहने क्रम देखिएको छ ।
विभागले मनसुन आगमनमा भइरहेको ढिलाइको प्रमुख कारणमध्ये एकका रूपमा प्रशान्त महासागर क्षेत्रमा विकसित भएको एलनिनो अवस्थालाई औँल्याएको छ । हाल एलनिनो विकसित भइसकेको मात्र नभई अझ बलियो बन्दै गएको जनाइएको छ । यस अवस्थाले दक्षिण एसियाली मनसुनी प्रणालीलाई प्रभाव पार्ने भएकाले नेपालमा मनसुन कमजोर हुने तथा आगमनमा समेत ढिलाइ हुन सक्ने सम्भावना रहेको विभागको निष्कर्ष छ ।
मौसमविद्हरूका अनुसार एलनिनो सक्रिय हुँदा वर्षाको वितरण, मात्रा तथा मनसुनी गतिविधिमा प्रत्यक्ष असर पर्ने गर्दछ । त्यसैले यस वर्षको मनसुनी अवस्थाबारे निरन्तर निगरानी र विश्लेषण भइरहेको विभागले जनाएको छ ।
विगतका अभिलेख हेर्दा पनि नेपालमा मनसुन कहिलेकाहीँ औसत समयभन्दा ढिलो प्रवेश गरेको देखिन्छ । विभागका तथ्याङ्कअनुसार सन् १९९२ मा मनसुन जुन २१ मा, सन् २०१६ मा जुन १५ मा, सन् २०१९ मा जुन २० मा तथा सन् २०२३ मा जुन १४ मा नेपाल प्रवेश गरेको थियो। यस वर्ष पनि त्यही प्रवृत्ति दोहोरिन सक्ने संकेत देखिएकाले विभागले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।