मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

शिक्षकसरुवा रोक्न स्थानीय तहलाई केन्द्रको तीनबुँदे निर्देशन

सोमवार , आषाढ १, २०८३


काठमाडौँ,०१ असार — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक व्यवस्थापनलाई व्यवस्थित बनाउन देशभरका स्थानीय तहलाई शिक्षक सरुवासम्बन्धी तीन बुँदे निर्देशन जारी गरेको छ । शिक्षक व्यवस्थापन समन्वय महाशाखा, भक्तपुरले सोमबार स्थानीय तहहरूलाई पत्राचार गर्दै जिल्लान्तर तथा अन्तर–स्थानीय तह सरुवाका विषयमा स्पष्ट व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो ।

महाशाखाले शिक्षक सेवा आयोगमार्फत स्थायी पदपूर्तिका लागि माग पठाइसकिएका शिक्षक दरबन्दीमा सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको छ । आयोगमा स्थायी नियुक्तिका लागि सिफारिस तथा पदपूर्तिको प्रक्रिया अघि बढिरहेका पदहरूमा जिल्लान्तर वा अन्तर–स्थानीय तह सरुवाबाट जनशक्ति व्यवस्थापन गर्न नपाइने स्पष्ट गरिएको छ । केन्द्रको यो निर्णयले स्थायी पदपूर्तिको प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, खुद पुल दरबन्दी कायम रहेका स्थानीय तहहरूको हकमा भने सम्बन्धित खुद पुल दरबन्दीकै शिक्षक पदमा सरुवा गर्न सकिने व्यवस्था गरिएको छ । महाशाखाले यस्ता दरबन्दीमा आवश्यकताअनुसार शिक्षक व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । यसबाट शिक्षक अभाव भएका क्षेत्रमा उपलब्ध जनशक्तिको समुचित उपयोग गर्न सहज हुने विश्वास गरिएको छ ।

केन्द्रले जारी गरेको निर्देशनमा शिक्षक बढुवासम्बन्धी विषयलाई पनि समेटिएको छ । ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका सम्भाव्य उम्मेदवारहरूको हकमा बढुवाको अन्तिम नतिजा सार्वजनिक नभएसम्म सरुवासम्बन्धी सहमति प्रदान नगर्न स्थानीय तहलाई भनिएको छ । बढुवा प्रक्रियामा रहेका शिक्षकहरूको प्रशासनिक अवस्था स्थिर राख्न र मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउन यस्तो व्यवस्था गरिएको महाशाखाको भनाइ छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यो निर्देशनसँगै शिक्षक सरुवाको प्रक्रियामा थप स्पष्टता आउने तथा स्थायी पदपूर्ति, बढुवा र शिक्षक व्यवस्थापनका कार्यहरू निर्धारित मापदण्डअनुसार सञ्चालन हुने अपेक्षा गरिएको छ । स्थानीय तहहरूलाई उक्त निर्देशन तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

1.png
undefined

प्रतिक्रिया