काठमाडौं,२१ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ । पार्टीका महामन्त्री डा. धवलशमशेर राणानिकट नेताकार्यकर्तासहित एक सय त्रियासी जनाले बिहीबार सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।
पार्टी छाड्नेहरूको सूचीमा शीर्ष तहका नेता मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायतका नेताहरू रहेका छन् । त्यस्तै पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला तहका जिम्मेवार नेताहरू समेत पार्टीबाट अलग भएका छन् ।
पार्टी परित्याग गर्ने समूहले सार्वजनिक गरेको विज्ञप्तिमा राप्रपाको वर्तमान नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैली हिनताबोधयुक्त, आत्मकेन्द्रित तथा संगठनात्मक रूपमा कमजोर रहेको आरोप उनीहरूले लगाएका छन् । नेतृत्वको यही प्रवृत्तिका कारण पार्टी आफ्नो मूल नीति, सिद्धान्त र उद्देश्यबाट विचलित भएको उनीहरूको दाबी छ ।
विज्ञप्तिमा जनताकेन्द्रित राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरिए पनि व्यवहारमा त्यसअनुरूप पार्टी सञ्चालन हुन नसकेको निष्कर्षसहित उनीहरूले पार्टी त्याग्ने निर्णय गरेका हुन् । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा सहभागिता जनाउनु र ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ को पक्षमा उभिनु पार्टीको घोषित मान्यताविपरीत भएको उनीहरूको आरोप छ ।
त्यस्तै पार्टीभित्र भनाइ र गराइबीच बढ्दो अन्तर, वैचारिक विरोधाभास तथा संगठनात्मक विचलनका कारण जनविश्वास गुम्दै गएको उल्लेख गरिएको छ । नेतृत्वलाई जवाफदेही बनाउने प्रयास गर्दा नेता तथा कार्यकर्तामाथि निरंकुश शैलीमा कारबाही गरिएको आरोपसमेत विज्ञप्तिमा समेटिएको छ ।
पार्टी त्याग्ने समूहले राजसंस्था पुनस्र्थापनाका आन्दोलनहरू पटक–पटक निष्प्रभावी बनाइएको आरोप लगाउँदै संवैधानिक राजसंस्थाको पक्षमा संसद्मा एउटा पनि प्रस्ताव दर्ता नगरिनु नेतृत्वको प्रतिबद्धतामाथिको प्रश्न भएको जनाएको छ ।
राप्रपाको स्थापना जुन आदर्श, मान्यता र उद्देश्यका आधारमा भएको थियो, वर्तमान नेतृत्वले ती सबैलाई क्रमशः समाप्त पार्ने दिशामा अघि बढेको निष्कर्षसहित उनीहरूले पार्टीसँगको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् । असन्तुष्ट पक्षका अनुसार यो केवल पहिलो चरणको बहिर्गमन हो र आगामी दिनमा थप नेताकार्यकर्ता पनि पार्टीबाट बाहिरिन सक्ने संकेत देखिएको छ ।