नेपालले आज १९औँ गणतन्त्र दिवस मनाइरहँदा यो केवल एउटा राजनीतिक परिवर्तनको उत्सव मात्र होइन, जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको स्मरण गर्ने ऐतिहासिक अवसर पनि हो । २०६५ साल जेठ १५ गते संविधानसभाले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेसँगै नेपाली जनताले आफ्नो सार्वभौम अधिकार र नागरिक सर्वोच्चताको नयाँ युगमा प्रवेश गरेका थिए ।
गणतन्त्र स्थापनापछि नेपालले संविधान निर्माण, सङ्घीय संरचनाको कार्यान्वयन, समावेशी प्रतिनिधित्वको विस्तार तथा लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण जस्ता महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । राज्यका विभिन्न तहमा नागरिकको सहभागिता बढेको छ भने महिला, दलित, आदिवासी जनजाति, मधेसी र अन्य सीमान्तकृत समुदायको राजनीतिक पहुँच पनि विस्तार भएको छ । यी उपलब्धिहरू गणतन्त्रका महत्वपूर्ण आधारस्तम्भ हुन् ।
तर, गणतन्त्रको यात्रा उपलब्धिमै सीमित छैन। राजनीतिक अधिकार प्राप्तिपछि जनताको अपेक्षा आर्थिक समृद्धि, सुशासन, रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र भ्रष्टाचारमुक्त प्रशासनतर्फ केन्द्रित भएको छ । नागरिकले आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गर्न नसके राजनीतिक उपलब्धिको महत्व कमजोर बन्न सक्छ । त्यसैले गणतन्त्रको वास्तविक सफलता जनताको जीवनस्तर सुधारसँग जोडिएको छ ।
आजको आवश्यकता राजनीतिक स्थायित्वलाई विकास र समृद्धिको आधार बनाउनु हो । उत्पादन वृद्धि, उद्यमशीलताको प्रवद्र्धन, युवाशक्तिको सदुपयोग र सार्वजनिक सेवामा पारदर्शिता कायम गर्दै गणतन्त्रलाई जनमुखी बनाउनु सबै राजनीतिक दल, सरकार र नागरिक समाजको साझा जिम्मेवारी हो ।
गणतन्त्र दिवसले हामीलाई विगतका संघर्षहरूको स्मरण मात्र गराउँदैन, भविष्यप्रतिको दायित्व पनि सम्झाउँछ । सहिदहरूको बलिदान, जनआन्दोलनका उपलब्धि र संविधानले परिकल्पना गरेको समृद्ध नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्ने दृढ संकल्पका साथ यो दिवस मनाउनु नै गणतन्त्रप्रतिको सच्चा सम्मान हुनेछ ।