काठमाडौं,१३ जेठ – अमेरिकाले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ प्राप्त गर्ने प्रक्रियामा नयाँ नियम लागू गरेपछि त्यहाँ बसोबास गरिरहेका नेपाली आप्रवासीहरू थप अन्योल र जटिलतामा परेका छन् । नयाँ व्यवस्थाअनुसार अब अधिकांश विदेशी नागरिकले अमेरिकाभित्रैबाट ‘ग्रीन कार्ड’का लागि आवेदन दिन नपाउने भएका छन् । उनीहरूले आफ्नै देश फर्किएर अमेरिकी दूतावासमार्फत प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था लागू गरिएको छ ।
अमेरिकी गृह सुरक्षा विभागले हालको व्यवस्थालाई ‘लुपहोल’को दुरुपयोग रोक्ने कदमका रूपमा व्याख्या गरेको छ । विशेषगरी विद्यार्थी, पर्यटक वा अस्थायी कामदार भिसामा अमेरिका पुगेर पछि त्यहीँबाट स्थायी बसोबासका लागि आवेदन दिने प्रवृत्तिलाई नियन्त्रण गर्न यो नीति ल्याइएको जनाइएको छ ।
न्युयोर्कमा कार्यरत नेपाली मूलका कानुन व्यवसायी बासु फुलाराका अनुसार यसअघि विभिन्न अस्थायी भिसामा अमेरिका पुगेका व्यक्तिले त्यहीँ बसेर ‘स्टाटस एड्जस्टमेन्ट’मार्फत ‘ग्रीन कार्ड’ प्रक्रिया अघि बढाउन सक्थे। अहिले त्यसमा कडाइ गरिएको हो ।
उनका अनुसार अमेरिकी कंग्रेसले बनाएको कानुनी व्यवस्थालाई कार्यान्वयन गर्दै सरकारले आवेदन प्रक्रियामा नयाँ मापदण्ड लागू गरेको हो । “भिसाको उद्देश्यभन्दा फरक ढंगले स्थायी बसोबासतर्फ जाने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्न खोजिएको देखिन्छ,” उनले भने ।
फुलाराका अनुसार नेपाली नागरिकका हकमा यसअघि पनि ‘ग्रीन कार्ड’ प्रक्रियामा विशेष निगरानी हुने गरेको थियो । नयाँ नियमले अब त्यो प्रक्रिया झन् कठिन र अनिश्चित बनेको छ । तथापि, ‘असाधारण परिस्थिति’ प्रमाणित गर्न सके केही व्यक्तिले अझै अमेरिकाभित्रैबाट आवेदन दिन सक्ने प्रावधान भने बाँकी रहेको उनले बताए ।
त्यस्तो सुविधा पाउन कम्तीमा पाँच वर्षदेखि अमेरिकामा बसोबास गरेको, कानुन पूर्ण रूपमा पालना गरेको तथा नियमित रूपमा कर बुझाएको प्रमाण आवश्यक पर्ने बताइन्छ । साथै, आफ्नो देश फर्कँदा मानवअधिकार उल्लंघन, हिंसा, प्राकृतिक विपत्ति वा गम्भीर आर्थिक संकट सामना गर्नुपर्ने अवस्था भए त्यसलाई ‘असाधारण परिस्थिति’का रूपमा व्याख्या गर्न सकिनेछ ।
परिवारिक संकट, सामाजिक असुरक्षा वा अमेरिकी अर्थतन्त्रमा उल्लेखनीय योगदान दिएका व्यवसायीसमेत विशेष मूल्यांकनमा पर्न सक्ने फुलाराको भनाइ छ । यस्ता सबै पक्षको परीक्षणपछि मात्रै अमेरिकी अधिकारीहरूले अमेरिकाभित्रैबाट आवेदन दिन मिल्ने वा नमिल्ने निर्णय गर्नेछन् ।
उनका अनुसार अब गैरकानुनी रूपमा लामो समयदेखि बसिरहेका वा ‘ओभरस्टे’ गरेका व्यक्तिहरूका लागि अमेरिकामै बसेर ‘ग्रीन कार्ड’ प्राप्त गर्ने बाटो लगभग बन्दजस्तै भएको छ । “अमेरिकाले अब कानुनी र व्यवस्थित आप्रवासनलाई प्राथमिकता दिन खोजेको स्पष्ट देखिन्छ,” उनले भने, “ग्रीन कार्ड सुविधा हो, स्वतः प्राप्त हुने अधिकार होइन भन्ने सन्देश दिन खोजिएको छ ।”
नेपालस्थित अमेरिकी दूतावासमार्फत भिसा प्रक्रिया सीमित भइरहेका बेला अमेरिकाभित्रबाट समेत आवेदनमा कडाइ भएपछि नेपाली आप्रवासी समुदाय दोहोरो समस्यामा परेको फुलाराको विश्लेषण छ । उनका अनुसार अहिले नेपालीहरूका लागि ‘असाधारण परिस्थिति’ अन्तर्गत आवेदन दिने विकल्प मात्रै व्यवहारिक रूपमा खुला देखिएको छ ।