मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

चोरीको धनले ठडियो करोडौंको साम्राज्य

मंगलवार , जेठ १२, २०८३

काठमाडौं,१२ जेठ — चोरीलाई नै संगठित ‘पेसा’ बनाउँदै विलासी जीवन बिताइरहेका बाँकेका प्रेम थारुविरुद्ध राज्यले सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढाएको छ । पटक–पटक चोरीका घटनामा संलग्न रहँदै आएका थारुले अवैध आम्दानीबाट करोडौँको सम्पत्ति जोडेपछि जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थारुले चोरीमार्फत करिब ६ करोड २२ लाख रुपैयाँभन्दा बढी बराबरको सम्पत्ति आर्जन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा उनीसँग महँगो सवारी, घरजग्गा, विदेशी मुद्रा, बैंक मौज्दात तथा सुनचाँदीका गरगहना फेला परेपछि चोरीसँगै सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान विस्तार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थारुले चोरीबाट प्राप्त रकम प्रयोग गरी करिब ९८ लाख रुपैयाँ मूल्यको टोयटा हाइलक्स गाडी खरिद गरेका थिए । प्रदेश ०३–०२३ च ४२२८ नम्बरको गाडी उनको रहेको भेटिएको छ । यद्यपि, थारुले उक्त गाडी ५५ लाखमा १८ पुस २०८२ मा बुटवल बस्ने देवीलाल वलीलाई बेचेको दाबी गरेका थिए । उनले उक्त गाडी बिक्री गरिसकेको दाबी गरे पनि सरकारी अभिलेखमा गाडी उनकै नाममा भेटिएको अनुसन्धान अधिकारीहरूको भनाइ छ । बयानका क्रममा उनले सुनचाँदी बिक्री गरेर गाडी किनेको स्वीकार गरेका छन् ।

अनुसन्धानले थारुले बाँकेको कोहलपुर क्षेत्रमा चोरीकै रकमबाट जग्गा खरिद गरी साढे तीनतले पक्की घर निर्माण गरेको देखाएको छ । उनले करिब पाँचदेखि सात वर्षअघि ४० लाख रुपैयाँमा दुई कट्ठा जग्गा खरिद गरेको बयान दिएका छन् । बाँकेका विभिन्न स्थानमा रहेका थप जग्गाको स्रोतसमेत पुष्टि गर्न नसकेपछि ती सम्पत्तिमाथि पनि जफतको माग गरिएको छ ।

काठमाडौंमा पक्राउ परेपछि प्रहरीले बाँकेको राप्ती सोनारीस्थित उनको घरमा खानतलासी गर्दा विभिन्न १६ देशका मुद्रा, बहुमूल्य वस्तु, विदेशी बैंकका कार्ड, सिक्का तथा विभिन्न सामग्री बरामद गरेको थियो । अमेरिकी डलरदेखि कतारी रियाल, चिनियाँ युआन, अस्ट्रेलियन डलर, भारतीय रुपैयाँलगायत विदेशी मुद्रा भेटिएपछि प्रहरीले विदेशी नागरिकसमेत उनका सम्भावित निशानामा परेको हुन सक्ने आशंका गरेको छ ।

थारुको बैंक खातामा करिब १८ लाख रुपैयाँ मौज्दात रहेको पनि प्रहरीले जनाएको छ । विभिन्न बैंकमा रहेको रकम, गाडी र घरजग्गा जफत गर्न अदालतसमक्ष मागदाबी गरिएको छ ।

प्रहरी अभिलेखअनुसार थारु ‘सुप्रिम’, ‘विकास’ र ‘सौरभ’ लगायत विभिन्न नामबाट परिचित थिए । उनी भेष परिवर्तन गर्दै चोरीमा संलग्न हुने गरेको र अरूको नागरिकतामा आफ्नो तस्बिर टाँसेर परिचय लुकाउने गरेकोसमेत खुलेको छ ।

गत माघमा काठमाडौंको बौद्ध क्षेत्रमा भएको ठूलो सुन चोरी प्रकरणपछि प्रहरीले उनलाई नागार्जुनबाट गोली प्रहार गरी पक्राउ गरेको थियो । त्यस क्रममा उनीबाट ६५ तोलाभन्दा बढी सुन बरामद गरिएको थियो ।

यसअघि पनि चोरी मुद्दामा सजाय भोगिसकेका थारु ‘असल चालचलन’ का आधारमा पेरोल सुविधामा जेलमुक्त भएका थिए । तर रिहाइपछि पुनः आपराधिक गतिविधिमा सक्रिय भएको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया