मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने

सोमवार , जेठ ११, २०८३

काठमाडौं,११ जेठ – यस वर्षको गणतन्त्र दिवस मूल समारोहमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन् । सरकारको तर्फबाट राष्ट्रपतिलाई नै समारोह सम्बोधन गर्न आग्रह गरिएको स्रोतले जनाएको छ ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिँदै आएको छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने परम्परा छ । सामान्यतः सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो ।

तर यसपटक भने सरकारले औपचारिक रूपमा राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरेको जनाइएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट पठाइएको पत्रमा गणतन्त्रको संवैधानिक तथा प्रतीकात्मक अभिभावक राष्ट्रपतिलाई समारोह सम्बोधन गर्न आग्रह गरिएको उल्लेख छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति गणतन्त्रको प्रतीकात्मक संरक्षक भएकाले राष्ट्रिय महत्त्वको उक्त समारोहमा राष्ट्रपतिबाट सम्बोधन गरिनु उपयुक्त हुने निष्कर्ष निकालिएको हो । सोहीअनुसार राष्ट्रपतिलाई सम्बोधनका लागि औपचारिक पत्राचार गरिएको बताइएको छ ।

प्रधानमन्त्री बालेन शाह सार्वजनिक औपचारिक समारोहमा कमै उपस्थित हुने नेताका रूपमा परिचित छन् । प्रधानमन्त्री पद सम्हालेयता उनले सीमित सार्वजनिक कार्यक्रममै सहभागिता जनाएका छन् । यसपटकको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने निर्णयलाई राजनीतिक तथा प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ ।

संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा २ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा कार्य सम्पादन गर्ने संवैधानिक व्यवस्था छ । यही प्रावधानअनुसार सरकारले राष्ट्रपतिलाई समारोह सम्बोधन गर्न अनुरोध गरेको बुझिएको छ ।

गणतन्त्र दिवस नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष मनाइन्छ । यस अवसरमा सैनिक परेड, सांस्कृतिक प्रस्तुति तथा विभिन्न राज्य समारोह आयोजना गरिँदै आएको छ । यस वर्षको समारोहमा राष्ट्रपतिबाट सम्बोधन हुने भएपछि समारोहको स्वरूप र सन्देशलाई लिएर थप चासो बढेको छ ।

प्रतिक्रिया