मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

मापसेका कारण दुर्घटना बढ्दो : एक महिनामै १२ जनाको ज्यान गयो

सोमवार , जेठ ११, २०८३

काठमाडौं, ११ जेठ – मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्तिका कारण देशभर सवारी दुर्घटनाको जोखिम बढ्दै गएको पाइएको छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार गत वैशाख महिनामा मात्रै मापसेसँग सम्बन्धित १२४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं उपत्यकाभित्र मात्रै वैशाख महिनामा ३७ वटा दुर्घटना भएका थिए । ती घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । उपत्यकामा रातिको समयमा तथा सार्वजनिक बिदाका दिन मापसे गरी सवारी चलाउने प्रवृत्ति अझ बढी देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रदेशगत विवरण हेर्दा कोशी प्रदेशमा ३५ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेश प्रदेशमा २० दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु भएको छ । त्यहाँ तीन जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा १५ जना घाइते भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका तीन दुर्घटनामा चार जना घाइते भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले ले मापसेका कारण दुर्घटनाको जोखिम गम्भीर रूपमा बढ्दै गएको बताए । उनका अनुसार मादक पदार्थ सेवन गरेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ उत्पन्न हुने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना अत्यधिक रहन्छ ।

प्रहरीले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको जनाएको छ । शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक जाँचलाई कडाइ गरिएको प्रहरीको भनाइ छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले मापसे गरी सवारी चलाउने चालकविरुद्ध कानुनअनुसार कारबाही भइरहेको जानकारी दिए । उनले ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रममार्फत सुरक्षित यात्राबारे सचेतना फैलाउने कामसमेत तीव्र बनाएको बताए ।

प्रहरीले सबै चालकलाई पूर्ण सतर्कता अपनाउन, ट्राफिक नियमको पालना गर्न तथा मादक पदार्थ सेवनपछि सवारी नचलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया