शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

काँग्रेसको डिजिटल सदस्यता अभियानले बढायो तरंग

सोमवार , जेठ ११, २०८३

काठमाडौं, ११ जेठ – नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई तीव्र बनाउँदै लगेको छ । पार्टी नेतृत्वले १५औँ महाधिवेशनको तयारीसँगै सदस्यता व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्य राखेपछि देशभर अद्यावधिक प्रक्रिया सक्रिय बनेको हो । हालसम्म रुजु भएर सूचीकृत हुने सदस्यको संख्या एक लाख बहत्तर हजार नाघेको पार्टीले जनाएको छ ।

काँग्रेसभित्र क्रियाशील सदस्यताको विषय विगतदेखि नै संवेदनशील मानिँदै आएको छ । विशेषतः महाधिवेशन प्रतिनिधि चयन र आन्तरिक शक्ति सन्तुलनसँग प्रत्यक्ष जोडिने भएकाले सदस्यता वितरण तथा नवीकरणलाई लिएर पटक–पटक विवाद उत्पन्न हुँदै आएको छ । संस्थापन पक्षले आफ्नो अनुकूल सदस्यता विस्तार गर्ने गरेको आरोप इतर समूहले लगाउँदै आएको भए पनि सदस्य संख्या भने निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । १४औँ महाधिवेशनअघि सार्वजनिक गरिएको तथ्यांकअनुसार काँग्रेसमा आठ लाख ५२ हजारभन्दा बढी क्रियाशील सदस्य रहेका थिए ।

गत वर्ष तत्कालीन महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पार्टी बैठकमा करिब आठ लाख ७० हजार क्रियाशील सदस्य रहेको जानकारी दिएका थिए । यद्यपि राष्ट्रिय निर्वाचनमा पार्टीले पाएको मत संख्या अपेक्षाभन्दा कम देखिएपछि सदस्यता प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको थियो । पार्टीभित्रै कतिपय नेताहरूले “देखावटी सदस्यता” को प्रवृत्तिले संगठन कमजोर बनाएको टिप्पणी गर्दै आएका छन् ।

विशेष महाधिवेशनपछि काँग्रेस नेतृत्वले सदस्यता अद्यावधिकलाई अनिवार्य बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नयाँ वर्षको पहिलो दिनदेखि अभियान सुरु गरिएको हो । पार्टीले सदस्यता अद्यावधिकका क्रममा परिचय खुल्ने कागजात, फोटो र फोन नम्बर अनिवार्य गरेको छ । नेतृत्वका अनुसार यसबाट पार्टी र कार्यकर्ताबीच प्रत्यक्ष सम्पर्क प्रणाली निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सभापति गगन थापाले अद्यावधिक अभियानमा असहयोग गर्ने झण्डै ५० जना वडा सभापतिको जिम्मेवारी अन्य व्यक्तिलाई दिइएको बताएका छन् । पार्टी निर्णय कार्यान्वयनमा अटेरी गर्ने थप पदाधिकारीमाथि पनि कारबाहीको तयारी भइरहेको नेताहरूले संकेत गरेका छन् । काँग्रेस नेतृत्वले महाधिवेशनअघि संगठनलाई अनुशासित र तथ्यांकमा आधारित बनाउने रणनीति अपनाएको देखिन्छ ।

अद्यावधिक प्रक्रियालाई सहज बनाउन मोबाइल एप, क्यूआर प्रणाली तथा टेलिफोनमार्फत सेवा उपलब्ध गराइएको छ । इन्टरनेट पहुँच कमजोर रहेका हिमाली तथा पहाडी जिल्लामा फर्मसमेत पठाइएको सदस्यता व्यवस्थापन समितिले जनाएको छ । केन्द्रीय कार्यालयमा खटिएका कर्मचारीका अनुसार दैनिक पाँच सयभन्दा बढी फोन कलमार्फत सदस्यहरूले जानकारी तथा सहयोग मागिरहेका छन् ।

महामन्त्री प्रदीप पौडेलका अनुसार सदस्यता अद्यावधिक अभियानले पार्टी संगठनलाई पुनः चलायमान बनाएको छ । उनका अनुसार वडास्तरसम्म कार्यकर्ता सक्रिय बनेका छन् भने अभियानलाई थप प्रभावकारी बनाउन प्रविधि र कृत्रिम बुद्धिमत्ताको समेत प्रयोग सुरु गरिएको छ । जेठ २१ गतेसम्म अद्यावधिकको समय तोकिएको काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया