शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मनसुनको प्रारम्भिक चरण कमजोर हुने संकेत

आइतवार , बैशाख २०, २०८३


काठमाडौं, २० वैशाख — यस वर्षको मनसुनको प्रारम्भिक चरण अपेक्षाकृत कमजोर रहने संकेत देखिएको छ । मौसमविद्हरूले जेठ मध्यदेखि साउन मध्यसम्मको अवधिमा देशका अधिकांश भू–भागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेका छन्, जसले विशेषतः कृषि क्षेत्रमा चिन्ता थपेको छ । 

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार जेठ १५ देखि साउन १५ सम्मको समयावधि सुक्खा रहने सम्भावना उच्च देखिएको छ । यद्यपि वैशाख महिनाभर भने वर्षा भइरहने संकेत देखिएको छ, जसले अल्पकालीन रूपमा राहत दिने भए पनि धान रोपाइँको मुख्य समयमा पानी अभाव हुनसक्ने जोखिम कायमै रहनेछ ।

यसबीच, जल तथा मौसम विज्ञान विभागले भने मनसुनको अवस्थाबारे अन्तिम निष्कर्ष निकाल्न अझै समय लाग्ने जनाएको छ । विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुनलाई प्रभावित गर्ने विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कारकहरू रहेको उल्लेख गर्दै अहिले नै निश्चित प्रक्षेपण सार्वजनिक गर्न नसकिने स्पष्ट पारेकी छन् । विभागले यसै साताको अन्त्यतिर आधिकारिक मौसमी पूर्वानुमान सार्वजनिक गर्ने तयारी गरेको छ ।

मौसमविद्हरूका अनुसार यस वर्ष मनसुन कमजोर हुने प्रमुख कारणमध्ये प्रशान्त महासागरमा देखिएको ‘एल निनो’ अवस्था र हिन्द महासागरको तापक्रमसँग सम्बन्धित ‘इन्डियन ओसन डाइपोल’ प्रमुख छन् । ‘एल निनो’ का कारण वायुमण्डलीय संरचनामा आएको परिवर्तनले बादल निर्माण प्रक्रिया सुस्त बनाउने र दक्षिण एसियाली मनसुन कमजोर पार्ने सम्भावना रहन्छ । यस्तै, हिन्द महासागरको तापक्रम असन्तुलनले जलवाष्पयुक्त हावाको प्रवाहमा अवरोध सिर्जना गर्न सक्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय मौसमी मोडेलहरूले पनि मनसुनी हावाको दिशा र गतिमा असामान्यता देखाएका छन् । यसले गर्दा विशेषगरी जुन महिनामा अपेक्षित वर्षा कम हुनसक्ने अनुमान गरिएको छ ।

यस अवस्थाले धान खेतीमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । डा. पोखरेलका अनुसार मनसुनको पहिलो आधा समय सुक्खा रहेमा देशभरि केवल ३० देखि ४० प्रतिशत मात्र रोपाइँ हुन सक्ने सम्भावना छ । नेपालको कृषि प्रणाली अझै ठूलो मात्रामा आकाशे पानीमा निर्भर रहेकाले समयमै वर्षा नभए उत्पादनमा उल्लेखनीय गिरावट आउने जोखिम छ ।

पछिल्ला वर्षहरूमा मनसुनको ढाँचा अस्थिर बन्दै गएको छ, जसले कहिले सुक्खा त कहिले अत्यधिक वर्षा जस्ता चरम अवस्था निम्त्याएको छ । गत वर्ष पनि देशले मनसुन अवधिमा खडेरीको सामना गर्नुपरेको थियो । विज्ञहरूले बदलिँदो जलवायु अवस्थालाई ध्यानमा राख्दै पूर्वतयारी र अनुकूलन रणनीति अपनाउन आवश्यक रहेको औँल्याएका छन् ।

यसै सन्दर्भमा, विस्तृत र आधिकारिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभागबाट आउने सिजनल फोरकास्टलाई आधार मान्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया