शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दिदी–बहिनीबीच पति साट्ने सहमति

शनिवार , बैशाख १९, २०८३


भारतको मध्य प्रदेशस्थित ग्वालियरमा सुनुवाइका क्रममा एक असामान्य पारिवारिक प्रकरण सार्वजनिक भएको छ, जसले अदालतलाई समेत चकित बनाएको छ । अपहरणसम्बन्धी मुद्दाको बहानामा अदालत पुगेको यो विषय अन्ततः दिदी–बहिनीबीचको वैवाहिक असन्तुष्टि र जीवनसाथी परिवर्तन गर्ने सहमतिको प्रस्तावमा रूपान्तरित भएको देखिएको छ ।

प्राप्त विवरणअनुसार दतिया निवासी गिरिजा शंकरले आफ्नी पत्नी र छोरीलाई मायाराम नामक व्यक्तिले बन्धक बनाएको आरोपसहित बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । सोही आधारमा अदालतले सम्बन्धित पक्षलाई उपस्थित हुन आदेश दिएको थियो । आदेशअनुसार अदालतमा उपस्थित भएकी गिरिजा शंकरकी पत्नीले आफू अपहरणमा नपरेको स्पष्ट पार्दै स्वेच्छाले मायारामसँग बस्दै आएको बताइन् ।

मामिलाको जटिलता त्यसबेला थप प्रस्ट भयो, जब उनीहरूबीचको पारिवारिक सम्बन्ध उजागर भयो । गिरिजा शंकर र मायाराम नाताले साढुदाइ–साढुभाइ रहेको र गिरिजा शंकरकी पत्नी आफ्नै बहिनीज्वाइँको घरमा बस्दै आएको तथ्य अदालतसमक्ष प्रस्तुत भयो । सम्बन्ध विच्छेदका लागि आफूले प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै ती महिलाले मायारामसँगै जीवनयापन गर्न चाहेको अभिव्यक्ति दिइन् ।

यसैबीच, मायारामकी पत्नी, जो गिरिजा शंकरकी साली हुन्, उनले पनि दिदी आफ्नो पतिसँग बस्दा आपत्ति नभएको जनाउँदै आफू भने भिनाजु गिरिजा शंकरसँग बस्न इच्छुक रहेको बताइन् । दुवै दिदी–बहिनीले वैवाहिक जीवनप्रति असन्तुष्टि व्यक्त गर्दै आपसी सहमतिमा पति साटासाट गरी नयाँ सम्बन्ध सुरु गर्न चाहेको स्पष्ट पारे ।

अदालतसमक्ष प्रस्तुत यी अभिव्यक्तिहरूले मुद्दाको प्रकृति अपहरणभन्दा फरक रहेको देखिएपछि इजलासले यसलाई पारिवारिक विवादको रूपमा व्याख्या गरेको छ । दुवै महिला बालिग भएकाले आफ्ना निर्णय स्वयं गर्न सक्षम रहेको ठहर गर्दै अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिदिएको छ ।

अदालतले यस प्रकरणमा हस्तक्षेप आवश्यक नरहेको उल्लेख गर्दै कानुनी रूपमा कुनै जबर्जस्ती वा अवैध बन्धनको अवस्था नदेखिएको निष्कर्ष निकालेको छ । यस घटनाले सामाजिक तथा वैवाहिक सम्बन्धका जटिल आयामहरू उजागर गरेको छ भने व्यक्तिगत स्वतन्त्रता र सहमतिका प्रश्नलाई पुनः बहसको केन्द्रमा ल्याएको छ ।


प्रतिक्रिया