शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भोलि देशभर हावाहुरी र वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं, १५ वैशाख – जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न प्रदेशमा भोलि बुधवार साँझदेखि तीव्र हावाहुरीसहित वर्षा हुने सम्भावना औँल्याउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार १६ वैशाख साँझ ५ः४५ बजेदेखि १७ वैशाख बिहान ७ः४५ बजेसम्म सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका केही जिल्लामा हावाहुरीको प्रभाव देखिन सक्नेछ ।

पूर्वानुमानअनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ तथा अर्घाखाँची, मधेश प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशका मोरङ लगायत आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ । यससँगै मेघगर्जन, चट्याङ, असिना र वर्षासमेत हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने विभागले जनाएको छ ।

मौसमविद्हरूका अनुसार हाल देखिएको मौसमी अवस्था प्रिमनसुन प्रणालीको सक्रियताका कारण उत्पन्न भएको हो। भारतको उत्तराञ्चल क्षेत्रतर्फ विकसित पूर्वी प्रणाली र हिमाञ्चल प्रदेशतर्फको पश्चिमी प्रणाली नेपाल प्रवेश गरी एकआपसमा मिसिँदा मौसमी गतिविधि तीव्र बनेको बताइएको छ । यसमा स्थानीय स्तरको तातो वायुमण्डलीय प्रभाव समेत जोडिँदा केही स्थानमा भारी वर्षा र हावाहुरीको जोखिम बढेको मौसमविद्हरूको विश्लेषण छ ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार मंगलवार रातिदेखि वर्षाको क्षेत्र विस्तार हुँदै जाने र १६ वैशाखमा वर्षाको तीव्रता थप बढ्ने सम्भावना छ । विशेषगरी काठमाडौं उपत्यका र आसपासका क्षेत्रका साथै पूर्वी भूभागमा व्यापक वर्षा हुने देखिएको उनले बताए । उनका अनुसार भोलि र पर्सि पनि मेचीदेखि त्रिशूली–कालीगण्डकी क्षेत्रसम्म बेलाबेलामा वर्षा भइरहने सम्भावना रहेको छ ।

विभागले हावाहुरी, चट्याङ र वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी खुला स्थानमा नबस्न, कमजोर संरचनाबाट टाढा रहन तथा कृषि र पशुपालनमा क्षति न्यूनीकरणका उपाय अपनाउन सुझाव दिइएको छ ।

यसैबीच, मौसमविद्हरूले प्रमुख राजमार्गहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङल्हामु तथा बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ । अप्रत्याशित मौसम परिवर्तनका कारण सडक दुर्घटना तथा अवरोधको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया