मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

साइकलबाट स्करपियोसम्म : सांसद गजुरेलको बदलिँदो यात्रा

आइतवार , बैशाख १३, २०८३

सिन्धुली,१३ बैशाख – सन्धुली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले संसदीय यात्राको प्रारम्भमा अपनाएको सरल जीवनशैली र सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताले व्यापक चर्चा पाएको थियो । संसदमा शपथ लिन उनी साइकल चढेर पुगेपछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म उनको प्रशंसा भएको थियो । त्यसयता उनले साइकल तथा सार्वजनिक सवारी साधन प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै केही समय त्यहीअनुसार यात्रा गरेको देखिएको थियो ।

तर पछिल्लो समय भने उनको व्यवहारमा परिवर्तन देखिएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको सभापति नियुक्त भएपछि गजुरेलले सरकारी सुविधा अन्तर्गत उपलब्ध गराइएको स्करपियो गाडी प्रयोग गर्न थालेका छन् । संसदीय अभ्यासअनुसार समितिका सभापतिहरूले गाडीसहित सचिवालय सुविधा पाउने व्यवस्था रहेकाले उनले उक्त सुविधा उपयोग गरेका हुन् ।

यद्यपि, प्रारम्भिक दिनमा सार्वजनिक यातायात प्रयोग गर्ने दृढ अभिव्यक्ति दिएका गजुरेलले सबैभन्दा पहिले सरकारी सवारी सुविधा लिएको विषयले केही प्रश्नहरू उठाएको छ । विशेषगरी, सार्वजनिक यातायात सुधारको पक्षमा आवाज उठाउँदै आएका उनी स्वयं लामो दूरीका यात्रुहरूले भोग्ने कठिनाइहरू प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा गरिएको थियो ।

नेपालका लामो दूरीका सार्वजनिक यातायातमा यात्रुले विभिन्न समस्या भोग्दै आएका छन् । होटलहरूमा चालक तथा सहचालकको कमिसनको प्रभावमा यात्रुहरूलाई महँगो तथा गुणस्तरहीन खाना उपलब्ध गराइने, सवारी साधनको असुविधाजनक अवस्था, मनपरी भाडादर निर्धारण जस्ता समस्या दीर्घकालदेखि विद्यमान छन् । यस्ता समस्याको समाधानका लागि नीतिगत तहमा पहल आवश्यक रहेको सन्दर्भमा गजुरेलजस्ता जनप्रतिनिधिले प्रत्यक्ष अनुभवका आधारमा सुधारको पहल गर्ने अपेक्षा गरिएको थियो ।

तर सरकारी सुविधा प्राप्त भएसँगै उनी निजी तथा सरकारी सवारी प्रयोगतर्फ उन्मुख भएको देखिएपछि उनको प्रारम्भिक प्रतिबद्धता र वर्तमान व्यवहारबीच अन्तर देखिएको टिप्पणी हुन थालेको छ । यसले जनप्रतिनिधिहरूको सार्वजनिक प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनबीचको सन्तुलनप्रति पुनः बहस सिर्जना गरेको छ ।

गजुरेलको यो कदमलाई कतिपयले सामान्य प्रशासनिक प्रक्रिया मानेका छन् भने कतिपयले यसलाई प्रारम्भिक प्रतिबद्धताबाट विचलनका रूपमा व्याख्या गरेका छन् । आगामी दिनमा उनले सार्वजनिक यातायात सुधारका विषयमा कस्तो भूमिका निर्वाह गर्छन् भन्नेमा सर्वसाधारणको चासो केन्द्रित देखिन्छ ।

प्रतिक्रिया