शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ठेक्का अनियमिततामा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं,११ बैशाख — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेलाई ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ गरेको छ । सरकारी बोलपत्र सम्बन्धी विद्युतीय प्रणालीमा अवैध पहुँच स्थापना गरी ठेक्का आफ्नो कम्पनीलाई पार्ने प्रयास गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।

सीआईबीका अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीका अनुसार पाण्डेलाई काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको हा े। प्रारम्भिक अनुसन्धानले सरकारी खरिद प्रक्रियामा गम्भीर हस्तक्षेप भएको संकेत गरेको भन्दै विस्तृत अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालकसमेत हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेताका रूपमा चिनिन्छन् । यसअघि पनि उनीमाथि सिक्टा सिँचाइ आयोजनासम्बन्धी भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा उक्त आयोजनामा अनियमितता भएको आरोपमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो, जुन प्रकरण अझै विचाराधीन अवस्थामै रहेको छ ।

राजनीतिक रूपमा सक्रिय पाण्डे २०७९ सालमा सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सार्वजनिक पदमा रहँदा र त्यसपछि पनि उनी विभिन्न विवादमा तानिँदै आएका थिए । पछिल्लो घटनाले पुनः उनको भूमिकामाथि प्रश्न उठाएको छ ।

प्रहरी स्रोतका अनुसार सरकारी प्रणालीमा पहुँच दुरुपयोग गरी प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको आशंका गरिएको छ । यसले सार्वजनिक खरिद प्रणालीको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर असर पार्न सक्ने भन्दै अनुसन्धान निकायले संवेदनशीलताका साथ मुद्दा अघि बढाइरहेको जनाएको छ ।

यता, पाण्डे पक्षबाट भने औपचारिक प्रतिक्रिया आइसकेको छैन । उनका निकटस्थहरूले आरोपलाई अस्वीकार गर्ने तयारी गरिरहेको बुझिएको छ ।

सरकारी निकायहरूमा डिजिटल प्रणालीको प्रयोग बढेसँगै त्यसको दुरुपयोगका सम्भावना पनि बढ्दै गएको सन्दर्भमा यो घटनाले सूचना प्रविधि सुरक्षा र निगरानी प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रहरीले पाण्डेमाथि लागेका आरोपहरूबारे थप प्रमाण सङ्कलन गर्दै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । मुद्दाको प्रकृति र गम्भीरताका आधारमा आवश्यक अनुसन्धानपछि अभियोजन प्रक्रिया अगाडि बढाइने सीआईबीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया