मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

गृहमन्त्री गुरुङको राजीनामापछि रास्वपामा उत्तराधिकारीको खोजी तीव्र

बुधवार , बैशाख ९, २०८३

काठमाडौँ,०९ बैशाख — गृहमन्त्री बनेको करिब एक महिनामै सुधन गुरुङले पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नयाँ गृहमन्त्रीको चयनबारे बहस तीव्र बनेको छ । विवादास्पद व्यापारीसँग सेयर लगानीसम्बन्धी विषयमा उठेका सार्वजनिक प्रश्नहरूको नैतिक जवाफस्वरूप गुरुङले बुधबार पद त्यागेको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदमा चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङको बहिर्गमनसँगै उक्त जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा पार्टीभित्रै प्रतिस्पर्धा देखिएको छ । स्रोतका अनुसार रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी गृहमन्त्रीका लागि सबैभन्दा बलिया दाबेदारका रूपमा उभिएका छन् ।

सभापति रवि लामिछाने निकट मानिने बुर्लाकोटी पार्टीका संस्थापक नेतामध्ये एक हुन् । हालै संसदीय दलको मुख्य सचेतक नियुक्त भएका उनी संगठनभित्र शालीन र समन्वयकारी नेताका रूपमा चिनिन्छन् । गोरखा–२ बाट निर्वाचित बुर्लाकोटीको राजनीतिक यात्रा पार्टी स्थापना पश्चात् केन्द्रीय सदस्यदेखि सह–महामन्त्री हुँदै महामन्त्रीसम्म पुगेको छ । शैक्षिक रूपमा फाइनान्समा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाको न्यू साउथवेल्स विश्वविद्यालयबाट मानवअधिकार र व्यवसाय सम्बन्धी अध्ययन गरेका छन् ।

यद्यपि बुर्लाकोटी एक्ला दाबेदार भने होइनन् । गृहमन्त्री सचिवालयसँग आबद्ध दीपक बोहरा र पार्टी प्रवक्ता मनिष झाले पनि उक्त पदका लागि दाबी प्रस्तुत गरेको स्रोतले जनाएको छ । कञ्चनपुर–२ बाट निर्वाचित बोहरा लामिछानेका विश्वासपात्र मानिन्छन् र उनले विगतमा स्वकीय सचिवका रूपमा काम गरेको अनुभव राख्छन् । यसैगरी पत्रकारिता पृष्ठभूमिबाट आएका झा धनुषा–३ बाट निर्वाचित सांसद हुन् र अघिल्लो संसदमा समानुपातिकतर्फबाट प्रतिनिधित्व गरेका थिए ।

पार्टीभित्र तीनै जनाको दाबी कायम रहेकाले सहमति जुटाउन चुनौती देखिएको छ । स्रोतका अनुसार सहमति हुन नसके अन्य विकल्पहरू पनि खुला राखिएको छ । “तीन जनाबीच सहमति नभए अन्य नाम पनि अगाडि आउन सक्छ,” एक स्रोतले बतायो ।

गुरुङको राजीनामा पार्टीभित्र मात्र नभई बाह्य रूपमा पनि व्यापक दबाबपछि आएको हो । उनको सेयर लगानीसम्बन्धी विषयमा पार्टीको अनुशासन आयोगले आन्तरिक अनुसन्धान अघि बढाएको छ । यसैबीच उनले प्रधानमन्त्री शाह र सभापति लामिछानेसँग पटक–पटक छलफल गरेका थिए। सोमबार राति दुवैबीच यस विषयमा विशेष छलफल भएको थियो ।

पार्टीले औपचारिक कारबाहीभन्दा पनि नैतिक आधारमा राजीनामा आउनुपर्ने धारणा बनाएको थियो । अन्ततः प्रधानमन्त्रीसँगको भेटपछि गुरुङले पद त्याग्ने निर्णय गरेका हुन् । अब गृहमन्त्रालयको नेतृत्व कसले सम्हाल्छ भन्ने निर्णयले रास्वपाको आन्तरिक सन्तुलन र आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिन्छ ।

प्रतिक्रिया