परीक्षामा खेताला परीक्षार्थी प्रयोग गरेको देखि विभिन्न परियोजनासम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान खेपिरहेका मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले ‘सिन्धुली सौगात’ले स्वतन्त्र, यथार्थ समाचार प्रकाशन गर्दा नपचाएर एक स्थानीय मिडियामार्फत बार्गेनिङ गरेको आरोप लगाएका छन् ।
हामी स्पष्ट रूपमा सोध्न चाहन्छौं, हामीले कुन विषयमा, कहाँ र कसरी बार्गेनिङ गर्यौं ? त्यसको प्रमाण सार्वजनिक गर्न हामी उनीसँग माग गर्दछौं । यदि उक्त आरोप पुष्टि गर्न नसके वा सार्वजनिक माफी नमागेमा हामी छिट्टै क्षतिपूर्तिसहित मानहानीसम्बन्धी कानुनी उपचारको बाटो रोज्न बाध्य हुनेछौं ।
हो, पालिकासँग मिडियाका लागि विज्ञापनसम्बन्धी छलफल भएका छन् । यो मिडियाको अधिकारको कुरा पनि हो । विज्ञापनको भुक्तानी दिनुपर्ने दायित्वबाट पन्छिन हाम्रो मिडियाका सत्य र आलोचनात्मक समाचार रोक्ने प्रस्ताव भएका हुन तर त्यसलाई हामीले अस्वीकार गरेका हौं ।
हामीमाथि निराधार आरोप लगाउने क्रममा उनले मरिणमा चिनियाँ भैंसीको मासु परियोजना आफैंले ल्याएको जस्ता हास्यास्पद दाबीसमेत गरेका छन् । यस्ता अभिव्यक्तिहरूले उनको विश्वसनीयता, स्तर कस्तो छ भन्ने कुरा सचेत पाठकले सहजै मूल्याङ्कन गर्न सक्छन ।
साथै, चिनियाँ कम्पनीलाई जग्गा उपलब्ध गराउँदा राजस्वमा भएको सम्भावित अनियमितता, ऐलानी जग्गा दिंदा गरिएको अपारदर्शिता तथा बालुवा गिट्टी कारोबारमा देखिएका समस्याबारे स्वतन्त्र छानबिन गरिनु आवश्यक छ भन्ने हाम्रो माग यथावत् छ ।
राज्यको आर्थिक उन्नतिका लागि नेपाल सरकारले अघि बढाएको यो परियोजना मरिण मात्र होइन, सम्पूर्ण सिन्धुली जिल्लाकै गौरवसँग जोडिएको विषय हो । त्यसैले सीमित व्यक्ति वा परिवारको स्वार्थमा यस्तो महत्वपूर्ण परियोजना प्रभावित पार्ने र विवादमा ल्याएर असफल पार्ने प्रयासविरुद्ध सिन्धुलीवासी तथा यसबाट लाभान्वित हुने सम्पूर्ण नेपाली जनता सचेत हुन आवश्यक भन्ने हाम्रो मान्यता छ ।