शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

‘लु’ को जोखिम कायम, गर्मी अझै चर्किने

मंगलवार , बैशाख ८, २०८३

काठमाडौँ,०८ वैशाख  — देशका विभिन्न भूभागमा तापक्रम क्रमशः बढ्दै जाँदा तातो हावाको लहर ‘लु’ को प्रभाव अझै केही दिन कायम रहने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले तराईका केही जिल्लामा बिहीबारसम्म ‘लु’ चल्ने सम्भावना औँल्याउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार पछिल्ला दिनहरूमा विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी मापन गरिएको छ । यी क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्जमा ४३ डिग्री तथा भैरहवामा ४४ डिग्री सेल्सियस तापक्रम अभिलेख गरिएको छ । यसैबीच, काठमाडौँ उपत्यकामा पनि तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ, जसले गर्मीको प्रभाव पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको संकेत गर्छ ।

मौसमविद् विनु महर्जनका अनुसार देशको पूर्वी भूभागमा शनिबारसम्म तापक्रम उच्च रहने सम्भावना छ भने पश्चिमी क्षेत्रमा अझ केही दिन बढी गर्मी कायम रहने देखिन्छ । उनका अनुसार पाँच दिनसम्म तापक्रम क्रमशः बढ्ने प्रवृत्ति रहने भएकाले जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

विभागले लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरू—कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीमा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरेको छ । साथै, अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायतका जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ ।

उच्च तापक्रम र तातो हावाको असरले मानिसहरूमा थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा जलन हुने, चक्कर आउने तथा बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने विभागले जनाएको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले उनीहरूको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

विभागले दिउँसोको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, चिसो र हावादार स्थानमा बस्न, हल्का तथा पातलो कपडा लगाउन र प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन विभागले पुनः आग्रह गरेको छ ।

प्रतिक्रिया