शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सम्पादकीय

नयाँ वर्ष २०८३ : चुनौतीबाट अवसरतर्फको यात्रा

मंगलवार , बैशाख १, २०८३

नयाँ वर्ष २०८३ को आगमनसँगै हामी सबैले नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा प्राप्त गरेका छौँ । सगुन सौगात मिडिया प्रा.लि.द्वारा प्रकाशित सिन्धुली सौगात राष्ट्रिय दैनिक का तर्फबाट सम्पूर्ण पाठकवर्ग, शुभेच्छुक तथा देश–विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

बितेको वर्षले नेपाली समाजलाई विभिन्न कोणबाट चुनौती र अवसर दुवै प्रदान ग¥यो । आर्थिक मन्दी, युवाशक्ति विदेश पलायन, रोजगारीको अभाव, र राजनीतिक अस्थिरताजस्ता विषयहरूले आम नागरिकको जीवनमा गहिरो प्रभाव पारेका छन् । यद्यपि, यिनै कठिनाइबीच पनि केही सकारात्मक संकेतहरू देखा परेका छन,स्थानीय तहको सक्रियता, उद्यमशीलताको विकास, र डिजिटल प्रविधिको विस्तारले भविष्यप्रति आशा जगाएको छ ।

नयाँ वर्षले यस्ता चुनौतीहरूको समाधान खोज्दै समृद्धि र स्थायित्वतर्फ अघि बढ्ने अवसर प्रदान गर्दछ । सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्यको भावना बलियो बनाउँदै उत्पादनमुखी अर्थतन्त्रतर्फ उन्मुख हुनु आजको आवश्यकता हो । साथै, युवाशक्तिलाई देशमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु समयको माग हो ।

मिडियाको भूमिका पनि यति बेला अझ जिम्मेवार बन्नुपर्ने देखिन्छ । सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामार्फत समाजलाई सही दिशा दिने हाम्रो दायित्व हो । सिन्धुली सौगात सधैं जनताको आवाज बन्ने प्रतिबद्धताका साथ अगाडि बढिरहनेछ ।

यस नयाँ वर्षले सबैमा शान्ति, समृद्धि, स्वास्थ्य र एकताको सन्देश ल्याओस् भन्ने कामना गर्दै, पुनः एकपटक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । नयाँ वर्षले नयाँ सम्भावना र उज्यालो भविष्यको ढोका खोलोस् ।

प्रतिक्रिया