मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सागर लम्साल ‘बले’विरुद्ध बलात्कार मुद्दा दर्ता भएन

आइतवार , चैत्र २२, २०८२

 

काठमाडौं,२२ चैत – कलाकार सागर लम्साल ‘बले’विरुद्ध बलात्कारसम्बन्धी औपचारिक मुद्दा दर्ता नभएको खुलेको छ । अमेरिकामा बसोबास गर्ने एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिए पनि विधिसम्मत जाहेरी नपरेका कारण सोही अभियोगमा मुद्दा अघि बढाउन नसकिएको प्रहरी स्रोतले जनाएको छ ।

हाल लम्साललाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ । बलात्कारसम्बन्धी स्पष्ट जाहेरी अभावमा उनलाई तत्काल सोही कसूरमा मुद्दा चलाउन कानुनी जटिलता देखिएपछि प्रहरी वैकल्पिक रूपमा ‘सार्वजनिक शान्ति खलल’ सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान अघि बढाउने तयारीमा रहेको बुझिएको छ । यसमार्फत म्याद थप गरी हिरासतमा राख्ने र सो अवधिमा थप तथ्य खुल्ने वा औपचारिक उजुरी आउने अपेक्षा प्रहरीको छ ।

प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोपकै आधारमा मात्रै पक्राउ गरिएको अवस्था रहेकाले अनुसन्धानलाई कानुनी आधार दिन वैकल्पिक धार प्रयोग गरिएको हो । यदि पीडित पक्षबाट औपचारिक जाहेरी प्राप्त भएमा सोही आधारमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गर्ने र आवश्यक अभियोग थप गर्ने तयारी प्रहरीको रहेको बताइएको छ ।

कानुनी व्यवस्थाअनुसार बलात्कारजस्ता गम्भीर अपराधमा घटना भएको स्थानकै प्रहरी निकायले अनुसन्धान गरी सम्बन्धित जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्छ । तर, प्रस्तुत घटनामा आरोप लगाउने युवतीले घटना अमेरिकामा भएको दाबी गरेकी छन् । यद्यपि पीडित र आरोपित दुवै नेपाली नागरिक भएमा विदेशमा भएको घटनासमेत नेपालभित्रै मुद्दा दर्ता गर्न सकिने कानुनी प्रावधान छ ।

यस सन्दर्भमा पीडितले औपचारिक रूपमा जाहेरी दिएमा काठमाडौंमै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउन सकिने कानुनविद्हरू बताउँछन् । तर, हालसम्म त्यस्तो जाहेरी नआएकाले अनुसन्धान प्रारम्भिक चरणमै सीमित रहेको छ ।

प्रतिक्रिया