काठमाडौं,२२ चैत गैरकानुनी गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै नेपाल प्रहरीले देशभर सञ्चालन गरेको विशेष खोजी अभियानअन्तर्गत चार दिनको अवधिमा २२६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गुण्डागर्दी, बिचौलियापन, अभद्र व्यवहार तथा सार्वजनिक सेवामा अवरोध सिर्जना गर्ने व्यक्तिहरूविरुद्ध केन्द्रित अभियान प्रभावकारी रूपमा अघि बढाइएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिएका छन् । उनका अनुसार समाजमा शान्ति सुरक्षा कायम राख्न र सर्वसाधारणलाई सुरक्षित वातावरण प्रदान गर्न यस्तो अभियानलाई निरन्तरता दिइनेछ ।
विवरणअनुसार चैत १८ गते मात्रै काठमाडौं उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना नियन्त्रणमा लिइएका थिए । त्यसपछिको दिन अर्थात् चैत १९ गते कोशी प्रदेशबाट एक, मधेस प्रदेशबाट सात, बागमती प्रदेशबाट २३, गण्डकी प्रदेशबाट दुई तथा कर्णाली प्रदेशबाट ११ जना पक्राउ परेका छन् । त्यस्तै चैत २० गते मधेस प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनी प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई जना नियन्त्रणमा लिइएका थिए । अभियानको अन्तिम दिन चैत २१ गते काठमाडौं उपत्यकाबाट मात्रै ६२ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरू विभिन्न किसिमका आपराधिक तथा असामाजिक गतिविधिमा संलग्न रहेका थिए । विशेषगरी यातायात कार्यालय, मालपोत कार्यालयजस्ता सार्वजनिक सेवामूलक निकायहरूमा सर्वसाधारणलाई दुःख दिने, अनावश्यक बिचौलियापन गर्ने, धम्की दिने तथा सार्वजनिक स्थलमा अभद्र व्यवहार प्रदर्शन गर्ने प्रवृत्तिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।