काठमाडौं, १० चैत — विदेश रोजगारीको प्रलोभन देखाएर सयौँ युवालाई ठगी गरेको आरोपमा चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–७ घर भएका कार्की विगत केही समयदेखि भारतमा लुकेर बसेको अवस्थामा रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले दिएको जानकारीअनुसार उनी पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्ज क्षेत्रमा बस्दै आएका थिए । त्यहाँ उनले ‘अन्नपूर्ण फास्टफुड’ सञ्चालन गर्दै आएको समेत खुलेको छ ।
कार्कीमाथि विदेश पठाइदिने आश्वासन दिँदै करिब २५० जनासँग रकम असुली गरेको आरोप छ । पीडितमध्ये १०० भन्दा बढी व्यक्ति प्रहरीको सम्पर्कमा आइसकेका छन् भने थप उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । पासाङ नोर्बु तामाङ लगायतका पीडितहरूले उनीविरुद्ध जाहेरी दिएका आधारमा अनुसन्धान अघि बढाइएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार कार्कीविरुद्ध वैदेशिक रोजगारी ठगीसम्बन्धी ६ वटा पक्राउ पुर्जी जारी भइसकेका थिए । उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
प्रहरी अनुसन्धानले देखाएको विवरणअनुसार कार्कीले चाबहिल क्षेत्रमा ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामक कन्सलटेन्सी सञ्चालन गर्दै आएका थिए । सो संस्थामार्फत उनले विगत १० वर्षदेखि विभिन्न व्यक्तिलाई विदेश पठाउने नाममा रकम उठाउँदै आएका थिए । तर अधिकांशलाई विदेश नपठाई ठगी गरेको आरोप लागेको हो ।
यसअघि पनि उनी कानुनी विवादमा परेका थिए । २५ असार २०८२ मा प्रहरी वृत्त लैनचौरबाट उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। बारम्बार कानुनी कारबाहीमा परे पनि उनी गतिविधि नरोकेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका कार्कीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद गरिएको छ, जसले उनको भारतमा लुकेर बस्ने गतिविधिलाई पुष्टि गरेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।