काठमाडौं, १० चैत – मंगलबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.८३ अंकले उकालो लाग्दै २९६० अंकमा पुगेको छ । यो स्तर पछिल्लो करिब आठ महिनायता अर्थात् गत साउन १३ पछिकै उच्च विन्दु हो । बजारमा लगानीकर्ताको सक्रियता कायम रहँदा परिसूचकसँगै समग्र कारोबार पनि उल्लेखनीय देखिएको छ, यद्यपि अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटेको छ ।
मंगलबार कुल १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि सोमबार १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको थियो । कारोबार रकममा सामान्य गिरावट आए पनि बजारको समग्र प्रवृत्ति सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन् ।
आजको कारोबारमा १३६ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत रूपमा हेर्दा व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशतले उकालो लागेको छ । यस समूहमा सूचीकृत सीमित कम्पनीमध्ये विशाल बजार कम्पनीको मूल्य ९.९१ प्रतिशतले बढेपछि समग्र समूहमा उल्लेख्य वृद्धि देखिएको हो ।
अन्य समूहहरूमा पनि मिश्रित प्रदर्शन देखिएको छ । बैंकिङ समूह ०.६७ प्रतिशत, विकास बैंक १.३८ प्रतिशत, फाइनान्स ०.५१ प्रतिशत, हाइड्रोपावर १.३२ प्रतिशत, लगानी ०.११ प्रतिशत तथा उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशतले बढेका छन् । तर, होटल तथा पर्यटन समूह ०.१७ प्रतिशत, जीवन बीमा ०.३७ प्रतिशत, माइक्रोफाइनान्स ०.४६ प्रतिशत, निर्जीवन बीमा ०.३८ प्रतिशत र अन्य व्यापार समूह ०.१६ प्रतिशतले घटेका छन् ।
आजको बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनका लगानीकर्ताले १० प्रतिशतसम्मको नाफा कमाएका छन् ।
यता, घट्ने कम्पनीतर्फ भने फस्र्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ । त्यसैगरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर ५.११ प्रतिशत र मेरो माइक्रोफाइनान्स ४.५३ प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन् । समग्रमा हेर्दा बजारमा लगानीकर्ताको विश्वास बढ्दै गएको संकेत देखिएको छ, जसले आगामी दिनमा बजार थप सक्रिय बन्ने अपेक्षा गरिएको छ ।