काठमाडौं,१० चैत — अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिँदा सुनको मूल्य लगातार ओरालो लाग्ने क्रममा रहेको छ। मंगलबार पनि सुनको भाउ घट्दै प्रतितोला एक हजार छ सय रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन भने यही सुन दुई लाख ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। लगातार घट्दो मूल्यले बजारमा सुनप्रति लगानीकर्ताको चासो र क्रेताको व्यवहारमा समेत परिवर्तन ल्याउन थालेको व्यवसायीहरू बताउँछन्।
विशेषगरी पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। गत मंगलबार प्रतितोला तीन लाख नौ हजार नौ सय रुपैयाँ पुगेको सुन अहिले सोही अवधिमा ३६ हजार रुपैयाँले सस्तो भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नुका साथै डलरको उतारचढावले पनि नेपाली बजारमा प्रभाव पारेको जानकारहरू बताउँछन्।
सुनको मूल्य घटेसँगै बजारमा खरिद–बिक्रीको गतिविधि भने मिश्रित देखिएको छ। केही उपभोक्ताले मूल्य घटेको अवसरलाई उपयोग गर्न खोज्दा अन्यले अझै घट्ने अपेक्षामा खरिद स्थगित गरिरहेका छन्। व्यवसायीहरूका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय प्रवृत्तिअनुसार नै मूल्य निर्धारण हुने भएकाले तत्काल ठूलो उतारचढावको सम्भावना भने कायम नै छ।
यसैबीच चाँदीको मूल्यमा भने मंगलबार सामान्य वृद्धि देखिएको छ। प्रतितोला ८० रुपैयाँले बढ्दै चाँदीको भाउ चार हजार पाँच सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ। यद्यपि चाँदी पनि पछिल्लो सातामा उल्लेख्य रूपमा घटेको छ। गत मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी हालसम्म आइपुग्दा ८३० रुपैयाँले सस्तो भइसकेको छ।
सुन र चाँदी दुबैको मूल्यमा देखिएको गिरावटले बजारमा अस्थिरता बढाएको छ भने उपभोक्ता र व्यवसायी दुवै पर्ख र हेरको अवस्थामा रहेका छन्।