मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

राजनीतिबाट बाहिरिए सपुत, अब केवल ‘इन्टरटेनर’ बन्ने घोषणा

शनिवार , चैत्र ७, २०८२


काठमाडौं,०७ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्न नसकेपछि चर्चित गायक तथा सर्जक प्रकाश सपुतले आफ्नो राजनीतिक यात्राबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उनले संसद् प्रवेश नपाए पनि चुनावी अभियानमार्फत बोकेको उद्देश्यप्रति आफू सन्तुष्ट रहेको बताएका छन् ।

पार्टी सभापति रवि लामिछानेले फोनमार्फत ‘तपाईं छुट्नुभयो’ भनी जानकारी गराएको उल्लेख गर्दै सपुतले उक्त निर्णयलाई सहज रूपमा स्वीकार गरेको जनाएका छन् । उनले आफूलाई अब कुनै पनि प्रकारको सरकारी नियुक्ति वा पदको अपेक्षा नरहेको स्पष्ट पारेका छन् । लामिछानेलाई दिएको आफ्नो जवाफ उद्धृत गर्दै उनले लेखेका छन्, “म आफ्नो व्यक्तिगत स्वार्थका लागि कुनै दिन तपाईंहरूकहाँ आउने छैन, मलाई कतै एड्रेस गर्न कुनै नियुक्ति दिने सोच्दै नसोच्नुहोला ।

सांसद बन्ने अवसर प्राप्त भएको भए दलित अधिकार, सामाजिक न्याय तथा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा नीतिगत रूपमा काम गर्ने आफ्नो योजना रहेको उनले बताएका छन् । तर वर्तमान अवस्थामा आफू पुनः आफ्नो मूल पहिचान अर्थात् सांगीतिक क्षेत्रमा नै केन्द्रित हुने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

चुनावी अभियानका क्रममा गाउँ–सहरका सडकमा गीत गाउँदै जनतासँग नजिकिने क्रममा आफूभित्रको कलाकार भावुक बनेको स्मरण गर्दै सपुतले लेखेका छन्, ‘त्यो समय मेरो कलाकार आत्मा रोएको अनुभूति भयो।’ उनले अब कुनै राजनीतिक दायित्व वा बोझ बिना स्वतन्त्र रूपमा सिर्जना गर्न चाहेको स्पष्ट पारेका छन् ।

‘म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु,’ उनले लेखेका छन्, ‘मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केवल इन्टरटेनर हुन चाहन्छु।’ यस अभिव्यक्तिले उनले आफ्नो आगामी यात्रा पूर्ण रूपमा संगीत र सिर्जनामा समर्पित हुने संकेत दिएका छन् ।

सामाजिक विषयवस्तुमा आधारित गीतमार्फत पहिचान बनाएका सपुतको यो निर्णयलाई उनका समर्थकहरूले विभिन्न रूपमा प्रतिक्रिया दिएका छन् । कतिपयले उनको स्पष्टता र आत्मनिर्णयको प्रशंसा गरेका छन् भने केहीले उनलाई सामाजिक चेतनासहितको सिर्जना निरन्तरता दिन आग्रह गरेका छन् ।

राजनीतिमा छोटो समय सक्रिय रहेपछि पुनः कलाक्षेत्रमा फर्कने सपुतको निर्णयले आगामी दिनमा उनका नयाँ सिर्जनात्मक कामप्रति चासो अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया