शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रेमका लागि बस चोरी ! १५ वर्षीय किशोरको अनौठो कारनामा

शनिवार , चैत्र ७, २०८२

प्रेमले मानिसलाई असम्भव जस्तो लाग्ने काम गर्न पनि प्रेरित गर्छ भन्ने भनाइलाई पुष्टि गर्ने एक अनौठो घटना जर्मनीमा सार्वजनिक भएको छ । जर्मनीको विसब्याडेन सहरका १५ वर्षीय एक किशोरले आफ्नी १४ वर्षीया प्रेमिकालाई स्कुल पु¥याउनका लागि सिधै बस नै चोरी गरेर करिब १३० किलोमिटर टाढासम्म चलाएको घटना बाहिर आएको हो ।

गत शुक्रबार बिहान करिब ६ बजे ती किशोर लुकिछिपी स्थानीय बस डिपोमा प्रवेश गरेका थिए । डिपोभित्र पुगेपछि उनले बसको साँचो फेला पार्न सफल भए र एक बस स्टार्ट गरेर कुनै शंका नउठ्ने गरी बाहिर निकाले। डिपोमा जडान गरिएको सीसीटीभीमा बस बाहिरिएको दृश्य कैद भए पनि कर्मचारीहरूले आफ्नै चालकले बस लगेको ठानेर खासै चासो दिएका थिएनन्।

घटनाको वास्तविकता भने दिउँसो मात्रै बाहिर आयो । कम्पनीले आफ्नो बस हराएको महसुस गरेपछि सुरुमा चालकहरूबीच झुक्किएको हुनसक्ने अनुमान ग¥यो । तर सबै चालकहरूले उक्त बस आफूहरूले नलगेको बताएपछि मात्र बस चोरी भएको पुष्टि भयो र तत्काल प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले बसमा जडान गरिएको जीपीएस प्रणालीमार्फत खोजी गर्दा बस विसब्याडेनबाट करिब १३० किलोमिटर टाढा रहेको कार्लस्रुहे सहरमा फेला पर्यो। त्यहाँ गस्तीमा खटिएको प्रहरी टोलीले बस रोकेर जाँच गर्दा चालकको सिटमा १५ वर्षीय किशोरलाई देखेपछि अधिकारीहरू नै अचम्ममा परेका थिए ।

प्रहरीका अनुसार ती किशोरले आफ्नी प्रेमिकालाई स्कुल पु¥याउनकै लागि यस्तो कदम चालेका थिए । उनले प्रेमिकालाई स्कुलमा छाडिसकेपछि पुनः विसब्याडेन फर्कने तयारी गरिरहँदा प्रहरीको नियन्त्रणमा परेका हुन्। प्रहरी प्रवक्ताले भने, “उनले बसको साँचो कसरी पाए र यति राम्रोसँग बस कसरी चलाए भन्ने अझै स्पष्ट भएको छैन ।”

यस घटनामा कुनै मानवीय क्षति भएको छैन भने बस पनि पूर्ण रूपमा सुरक्षित अवस्थामा फिर्ता गरिएको छ । यद्यपि, किशोरमाथि सवारी साधन चोरी र अनुमति बिना सवारी चलाएको अभियोगमा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया