मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

हेयर एक्सटेन्सनमा क्यान्सर जोखिम !

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौँ,०६चैत  — सौन्दर्य अभिवृद्धिका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुँदै आएका हेयर एक्सटेन्सनहरू स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने एक नयाँ अध्ययनले देखाएको छ । अमेरिकन केमिकल सोसाइटीको पत्रिकामा प्रकाशित उक्त अनुसन्धानले कृत्रिम तथा मानव कपालबाट बनेका विभिन्न प्रकारका एक्सटेन्सनमा क्यान्सरसँग सम्बन्धित रसायनसमेत फेला परेको तथ्य सार्वजनिक गरेको हो ।

अनुसन्धानकर्ताहरूले विग, ब्रेडिङ कपाल, वीभ्स र क्लिप–इनलगायत ४३ वटा नमुनाको परीक्षण गर्दा १७० प्रकारका फरक–फरक रसायन पहिचान गरेका छन् । तीमध्ये ४८ रसायन अन्तर्राष्ट्रिय रूपमा खतरनाक सूचीमा पर्ने उल्लेख गरिएको छ । आगो रोक्ने रसायन, कीटनाशक तथा हार्मोन प्रणालीमा असर पार्ने पदार्थहरूको उपस्थितिले विशेष चिन्ता बढाएको अध्ययनमा जनाइएको छ ।

विशेषगरी हार्मोनमा असर गर्ने रसायनहरूले मानव शरीरको प्राकृतिक प्रक्रिया अवरुद्ध गर्न सक्ने, प्रजनन क्षमता घटाउने तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने जोखिम औँल्याइएको छ । अध्ययनले स्तन क्यान्सरसँग सम्बन्धित १७ प्रकारका रसायन ३६ वटा नमुनामा भेटिएको देखाएको छ, जसले दीर्घकालमा क्यान्सरको जोखिम बढाउन सक्ने निष्कर्ष निकालिएको छ ।

त्यसैगरी केही नमुनामा अर्गेनोटिन नामक औद्योगिक यौगिकसमेत फेला परेको छ, जुन सामान्यतया प्लास्टिक तथा आगो प्रतिरोधी सामग्रीमा प्रयोग गरिन्छ । यो पदार्थ छालामा जलन, हार्मोन असन्तुलन तथा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित मानिन्छ ।

हेयर एक्सटेन्सन लामो समयसम्म टाउको, घाँटी र शरीरसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले यसको प्रभाव अझ गम्भीर हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । धेरै प्रयोगकर्ताले हप्तौँ वा महिनौँसम्म निरन्तर प्रयोग गर्ने भएकाले रसायनको असर क्रमशः शरीरमा जम्मा हुन सक्ने देखिन्छ ।

अध्ययनले ‘भर्जिन’ वा ‘र’ भनेर बेचिने मानव कपाल पनि पूर्ण रूपमा सुरक्षित नहुने संकेत गरेको छ । कतिपय अवस्थामा यस्ता कपालमा कृत्रिम कपालभन्दा बढी हानिकारक रसायन भेटिएको उल्लेख गरिएको छ । कपाललाई चम्किलो, टिकाउ र सजिलै मिलाउन योग्य बनाउन प्रयोग गरिने रसायन यसको मुख्य कारण हुन सक्ने जनाइएको छ ।

यसैबीच, हेयर एक्सटेन्सन प्रयोग गर्दा तातो उपकरण वा उम्लिएको पानी प्रयोग गर्ने अभ्यासले विषालु ग्यास उत्सर्जन गराउन सक्ने र श्वासमार्फत शरीरमा प्रवेश गर्ने जोखिमसमेत औँल्याइएको छ ।

विश्वव्यापी रूपमा हेयर एक्सटेन्सनको बजार तीव्र गतिमा विस्तार भइरहेका बेला यस्तो प्रतिवेदन सार्वजनिक हुनु उपभोक्ताका लागि सचेत रहने संकेतका रूपमा हेरिएको छ । विज्ञहरूले सुरक्षित विकल्प छनोट गर्न र प्रयोग गर्दा सावधानी अपनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया