काठमाडौं,१२ फागुन – अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली नागरिकले आफ्नै श्रीमती र छोरीको खुँडा प्रहार गरी हत्या गरेपछि प्रहरीको गोलीबाट उनको मृत्यु भएको घटनाले नेपाली समुदाय स्तब्ध बनेको छ । सोमबार बिहान करिब पाँच बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकस्थित अपार्टमेन्टमा उक्त घटना भएको हो ।
प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापामाथि करिब १० इन्च लामो घुमाउरो खुँडाले आक्रमण गरेका थिए । गम्भीर घाइते दुवै जनालाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घटनाका बेला अपार्टमेन्टभित्र रहेका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापामाथि समेत उनले खुँडा प्रहार गरेका थिए ।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार प्रहरी घटनास्थलमा पुग्दा संदिग्ध व्यक्ति ज्वाइँमाथि आक्रमणरत अवस्थामा थिए । हतियार भुइँमा राख्न पटक–पटक चेतावनी दिँदा पनि नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए । गोली लागेपछि अधिकारीहरूले तत्काल सीपीआर दिए पनि उनलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो ।
घटनाका बेला घरभित्र एक वर्षको बालक पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ । ज्वाइँ बाहिर कारबाट हिउँ पन्छाइरहेका बेला अपार्टमेन्टभित्रको होहल्ला सुनेर ९११ मा फोन गर्दै कोठामा फर्किएका थिए । नजिकैको अर्का एक व्यक्तिले पनि घरेलु विवादको आवाज सुनेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घरमा यसअघि घरेलु हिंसासम्बन्धी कुनै उजुरी दर्ता नभएको जनाएको छ । घटनाको कारण र पारिवारिक पृष्ठभूमिबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अधिकारीले थप मानवीय क्षति रोक्न प्रोटोकलअनुसार बल प्रयोग गरेको उल्लेख गरिएको छ ।