शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

देशमा फेरि वर्षा गराउने प्रणाली प्रवेश

सोमवार , माघ १९, २०८२

काठमाडौँ,१९ माघ – केही दिनको अन्तरालमै पश्चिमी न्यून चापीय प्रणाली पुनः सक्रिय बन्दै देशको मौसममा फेरि बदली ल्याउने संकेत देखिएको छ । अघिल्लो साता वर्षा र हिमपातपछि खुलेको आकाश धेरै टिक्न नसक्ने अवस्थामा पुगेको मौसमविद्हरूले बताएका छन् । पश्चिमी भू–भागबाट सुरु भएको प्रणाली क्रमशः सशक्त बन्दै जाँदा चिसो बढ्नुका साथै पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना बढेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी का अनुसार आइतबारदेखि नै सुदूरपश्चिम र कर्णाली क्षेत्रमा प्रणालीको हल्का प्रभाव देखिन थालेको छ । सोमबार यसले पश्चिम नेपालका उच्च हिमाली र पहाडी भू–भागलाई समेट्दै थप फैलिने र मंगलबार मध्य नेपालसम्म प्रभाव विस्तार हुने अनुमान छ । “अघिल्लो पटकजत्तिको अत्यन्त बलियो प्रणाली होइन, तर पश्चिम नेपाल पहिल्यै चिसिएको अवस्थामा रहेकाले यसले पनि मध्यम स्तरको वर्षा र हिमपात गराउन सक्छ,” उनले बताए ।

पूर्वी नेपालभन्दा पश्चिमी भू–भागमा प्रभाव बढी देखिने प्रक्षेपण गरिएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र अन्य पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका माथिल्ला भेगमा आंशिक असर देखिन सक्ने भए पनि तराई र मधेस प्रदेशमा भने प्रभाव न्यून रहने महाशाखाको भनाइ छ । काठमाडौँ उपत्यकामा मङ्गलबार राति छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

सोमबार तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ भने हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने जनाइएको छ । राति पनि यी क्षेत्रहरूमा बादल यथावत् रहनेछन् ।

मंगलबार दिउँसो भने बदलीको दायरा अझ फराकिलो हुँदै हिमाली र पहाडी भू–भागमा सामान्यतया घना बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा हिमाली स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । बाँकी हिमाली क्षेत्रमा हल्का हिमपात तथा सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका केही भू–भागमा हल्का वर्षा हुन सक्छ ।

प्रतिक्रिया